News

Jun 11, 2009

खोलाले बगाएको गरी ४ सय ७४ सीमास्तम्भ गायब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २८ - पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएका तराईका २० मध्ये १८ जिल्लाका १ हजार १ सय ७१ सीमास्तम्भ जोखिममा छन् । यीमध्ये खोलाले बगाएको समेत गरी ४ सय ७४ सीमास्तम्भ गायब छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागको तथ्यांकअनुसार २ सय ४४ सीमास्तम्भ नाम मात्रका छन् । यीसहित ६ सय ९७ सीमास्तम्भ तत्काल पुनर्निर्माण नगरिए हराएर जाने अवस्थामा छन् । कुल ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा रहेको जानकारी विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक किशोरकुमार लामाले दिए । यो विवरण सीमा सुरक्षा बलका रूपमा खटिएका सशस्त्र प्रहरीले करिब एक वर्ष लगाएर तयार पारेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी सीमास्तम्भ गायब भएका जिल्लामा पर्सा र बारा छन् । यी दुई जिल्लामा क्रमशः १ सय ९० र १ सय ८३ सीमास्तम्भ गायब छन् । पर्सामै ८९ सीमास्तम्भ अत्यन्त जीर्ण अर्थात् ससाना ठुटामा मात्र सीमित छन् । सशस्त्र प्रहरी ऐन, २०५८ को परिच्छेद २, दफा ६ को उपदफा १ मा 'नेपाल राज्यको सीमा सुरक्षा गर्न' बललाई 'म्यान्डेट' दिइएको छ । गठन हुँदा सीमा सुरक्षासमेतको 'म्यान्डेट' दिइए पनि सशस्त्र सीमा सुरक्षा कार्यालय नै स्थापना गरी १५ महिनाअघि मात्र बल सक्रिय रूपमा सीमा सुरक्षामा खटिएको हो । तराईका झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, नवलपरासी, रूपन्देही, बाँके, बर्दिया, कैलाली र कन्चनपुर गरी १८ जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना गरी हाल सशस्त्र रूपमा तैनाथ छ । ती जिल्लाहरूमा सशस्त्रका प्रहरी उपरीक्षक -एसपी) को कमान्डमा २ सय ३७ जनशक्ति परिचालित छन् । आफ्नो जिम्मामा परेका १८ जिल्लाको सीमाको सम्पूर्ण अवस्था भूउपग्रहबाट तथ्यांक लिएर जीपीएस -ग्लोबल पोजिसनिङ सिस्टम) मा राखिएको जानकारी दिँदै विभाग प्रमुख लामाले भने, 'अब यी १८ जिल्लाको सीमास्तम्भ कसैले उखले, खोलाले बगाए पनि हामी हाम्रो सीमा कहाँसम्म हो भनेर पत्ता लगाउन सक्छौं ।' भारतसँग सीमा जोडिएका तराईका चितवन र दाङका साथै पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, डडेल्धुरा, बैतडी र दार्चुला गरी आठ र चीनसँग सीमा जोडिएका १४ जिल्लामा भने सशस्त्रका सीमा सुरक्षा कार्यालय नै छैनन् । कार्यालयको अभावमा ती जिल्लाको सीमास्तम्भबारे संगठनलाई कुनै जानकारी नभएको सशस्त्रले जनाएको छ । नेपालका दुई जिल्लाको सीमा चीन र भारत दुवैसँग जोडिएको छ ।
भारतीय सशस्त्र सीमा बल -एसएसबी) को भने तराईका २० वटै र पहाडको ताप्लेजुङबाहेक पाँच जिल्लाको सीमामा उपस्थिति छ । सशस्त्रको सीमा सुरक्षा बल नभएकै कारण पछिल्लो समय दाङमा समस्या देखिएको जनाउँदै विभाग प्रमुख लामाले भने, 'दाङमा हाम्रो एसएसबी भएको भए यो समस्या नआउन सक्थ्यो । सीमा सुरक्षालाई प्राथमिकतामा राखेर राम्ररी एसएसबी परिचालन गरे यस किसिमका सीमा विवाद पूर्णरूपमा हट्न वा निकै घट्न सक्छन् ।' 'भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूको संरक्षणमा स्थानीय भारतीयले आफ्नो जग्गा बढाउन रातारात सीमास्तम्भ नेपालतिर सार्ने गरेको पाइएको छ,' तराईको एक जिल्लामा नेपाली सीमा सुरक्षा बलको नेतृत्व गरेका सशस्त्रका एक एसपीले कान्तिपुरसित टेलिफोनमा भने । सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेतले सीमामा खटिएका एसएसबीले राम्रो काम गरिरहेको बताए । 'जनशक्ति र स्रोत साधन थप भए अझ प्रभावकारी ढंगले काम गर्न सकिन्छ,' उनले भने । सशस्त्रले चीनसँगमात्र सीमा जोडिएका १२, चीन र भारतसँग सीमा जोडिएका दुई र भारतसँग सीमा जोडिएका पहाडका चार जिल्लामा पनि सीमा सुरक्षा कार्यालय स्थापनाका लागि सरकारसँग प्रस्ताव गरेको छ । भारतसँग सीमा जोडिएका तराईका चितवन र दाङमा कार्यालय स्थापनाका लागि भने प्रक्रिया अघि बढिसकेको विभाग प्रमुख लामाले बताए । जनशक्तिको अभावमा सबै स्थानमा सीमा सुरक्षा कार्यालय स्थापनाका लागि अप्ठ्यारो भएको जानकारी दिँदै गृह प्रवक्ता नवीन घिमिरेले भने, 'सशस्त्रको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । क्रमशः सीमा जोडिएका सबै जिल्लामा कार्यालय स्थापना गर्ने सरकारको सोच छ ।'

No comments: