News

Jun 13, 2009

एमाले र कांग्रेसबीच मन्त्रालय बाँडफाँटमा सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३० - तीन साता लामो गतिरोधपछि प्रमुख सत्ता साझेदार दुई दल मन्त्रिपरिषद्को कार्यविभाजन र विस्तार गर्न सहमत भएका छन् । प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि आइतबार थप मन्त्रीहरुको जिम्मेवारी सहित सपथ हुन लागेको हो ।प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच शनिबार अपरान्ह भएको छलफलमा मन्त्रालय बाँडफाँट गरी आइतबार एमाले र कांग्रेसका मन्त्रीलाई सपथ गराउने सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले जानकारी दिए ।सहमति अनुसार एमालेको भागमा रक्षा सहित अर्थ,गृह, सूचना तथा संचार मन्त्रालय परेका छन् भने कांग्रेसले परराष्ट्र सहित स्वास्थ्य, जलश्रोत, स्थानीय विकास मन्त्रालय पाउने भएको छ । यसैबीच एमालेले गृहमा भिम रावल र संचार मन्त्रालयमा शंकर पोखरेललाई पठाउने भएको छ । अन्य दलसँगको परामर्शपछि एमालेले आफ्ना थप मन्त्रीको टुंगो लगाउनेछ । श्रोतका अनुसार एमालेले रबीन्द्र श्रेष्ठ र रकम चेम्जोङलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । कांग्रेसले बिना विभागीय मन्त्री प्रकाशसरण महतलाई जलश्रोत र मिनेन्द्र रिजाललाई स्वास्थ्य मन्त्रालय दिने लगभग निश्चित भएको कांग्रेस निकट श्रोतले जनाएको छ । कांग्रेस- एमाले नेतृत्वले फोरमको गच्छदार समूहलाई भौतिक योजना , कृषि, सामान्य प्रशासन लगायतका मन्त्रालय दिन थप छलफल गर्ने भएका छन् । अर्को साझेदार दल तराई-मधेस लोकतान्त्रिक पार्टीले शिक्षा र विज्ञान तथा प्रविधि मन्त्रालय पाउने सम्भावना छ भने नेकपा माले र राप्रपालाई बन र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । कांग्रेसले श्रम र एमालेले शान्ति मन्त्रालयको माग गरेकाले ती मन्त्रालयको टुंगो भोली बिहान लगाइने सहमति भएको छ । प्रधानमन्त्रीले फोरम, तमलोपा लगायतका दलसँग परामर्श गरी भोलीसम्म मन्त्रीको नाम पठाउन आग्रह गर्नुहुनेछ ।

No comments: