News

Jun 13, 2009

गायक यम बराललाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले गायक यम बराललाई कानुनी कारबाही गर्न गृहसचिव गोविन्द कुसुमलाई निर्देशन दिएका छन् । गायक बरालले घरमा काम गर्न राखेको मजदुर महिला मनकुमारी तामाङलाई पारिश्रमिक नै नदिई उल्टै तीन दिन थुनाएको समाचार पत्रिकाले प्रकाशित गरेपछि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री नेपालले सचिव कुसुमलाई बिहीबार आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्री नेपालले पीडित महिलाको पारिश्रमिक दिलाउन र क्षतिपूर्तिको व्यवस्था गराउनसमेत गृहसचिवलाई निर्देशन दिएको रिजालले बताए । त्यस्तै प्रधानमन्त्रीले बराललाई सार्वजनिक माफी मगाउन र महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी शरद खत्रीमाथि पनि छानबिन गर्न सचिव कुसुमलाई निर्देशन दिएका छन् ।तर, पीडितलाई पारिश्रमिक र क्षतिपूर्ति दिलाउन भएको प्रगतिबारे जान्न खोज्दा गृहसचिव कुसुमले केही पनि प्रतिक्रिया दिन चाहेनन् । 'प्रवक्तासँग सोध्नुहोस्, मलाईभन्दा बढी उनलाई जानकारी छ यस विषयमा,' कुसुमले भने । गृहप्रवक्ता नवीन घिमिरेले प्रधानमन्त्रीले सचिवलाई दिएको निर्देशनको बारेमा आफू अनभिज्ञ रहेको बताए । 'मलाई त केही पनि थाहा छैन, थाहै नभएको विषयमा के बोलौं,' घिमिरेले भने, 'प्रधानमन्त्रीले सचिवलाई बोलाएको नै थाहा छैन ।'त्यस्तै बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविसले गायक बरालविरुद्ध श्रम शोषणअन्तर्गत जाहेरी दिने जनाएको छ । बालश्रम शोषण गरिएको प्रमाणित भए ६ महिना जेल सजाय र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । सिविसले पीडित मनकुमारीलाई बच्चा भर्ना गर्दा लागेको १६ सय पनि दिएको छ ।

No comments: