News

Jun 12, 2009

७ साउन ०६६ मा पूर्ण खग्रास हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अब धेरै छैन, करिब एक महिनामा आउँदै छ, ७ साउन ०६६ । बिहानै उठ्ने बानी छ भने नझुक्किनुहोला, उज्यालो हुनासाथ अन्धकार हुनेछ, रातको १२ बजेजस्तै । सूर्यग्रहण त पटक-पटक लाग्छ, तर यसपालि सूर्यमा लाग्ने ग्रहण चानचुने होइन, पूर्ण खग्रास हुनेछ । यस्तो ग्रहण यसपालि हेर्ने पुस्ताले अर्कोपटक सायदैै हेर्न पाउनेछ । किनकि, अबको ७८ वर्षपछि मात्र ब्रह्माण्डमा यस्तो संयोग जुर्नेछ । ७ साउनको बिहान नेपालमा उज्यालो हुनासाथ अँध्यारो हुनेछ, सामान्य अथवा अधिक रूपमा होइन, शतप्रतिशत अँध्यारो । खग्रास सूर्यग्रहणले बिहानीलाई नै अन्धकार बनाउनेछ । अन्तर्राष्ट्रिय खगोल वर्ष- २००९ का नेपाल संयोजक जयन्त आचार्यका अनुसार बिहान ५:४६ बाट सुरु हुने खग्रास सूर्यग्रहण ७:४५ मा सकिनेछ । नेपालका फरक-फरक ठाउँमा फरक-फरक समयमा खग्रास हुनेछ । नेपालमा सबैभन्दा बढी विराटनगरमा तीन मिनेट ३६ सेेकेन्ड शतप्रतिशत अँध्यारो हुनेछ । त्यस्तै काठमाडौंमा ६ बजेर ४२ मिनेटमा सबैभन्दा बढी ९६.६ प्रतिशत अँध्यारो हुनेछ । ५० वर्षको अन्तरालमा हुन लागेको खग्रासको अँध्यारो सबै नेपालीले देख्न पाउनेछन्, तर ग्रहण लागेको सूर्य भने नगण्य नेपालीले मात्र हेर्न पाउनेछन् । ग्रहण हेर्न एक जापानी खगोलशास्त्रीको सहयोगमा सयवटा मात्र विशेष चस्मा ल्याइएका छन् । 'सूर्यग्रहण हेर्न एक सयवटा विशेष चस्मा नेपाल ल्याइसकिएको छ,' आचार्यले भने ।विराटनगरपछि इलाममा ६ बजेर ४३ मिनेटमा सुरु हुने पूर्ण अन्धकार तीन मिनेट आठ सेकेन्डसम्म रहनेछ । सूर्यग्रहण इलामबाट राम्रोसँग अवलोकन गर्न सकिने आचार्यले बताए । खगोलशास्त्रीका अनुसार नेपालमा खग्रासको सबैभन्दा कम प्रभाव महेन्द्रनगरमा पर्नेछ । महेन्द्रनगरमा ८५ प्रतिशत मात्रै अँध्यारो हुनेछ । जनकपुरदेखि पूर्व इलामसम्म पूर्णग्रहण लाग्ने आचार्यले बताए । सूर्यग्रहण हेर्न काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ र विशालनगरको लक्षशिला एकेडेमीमा व्यवस्था मिलाइएको छ । सूर्यको प्रकाश चन्द्रमाले छेकेर चन्द्रमाको छाया पृथ्वीमा पर्दार् सूर्यग्रहण लाग्छ । सूर्यलाई पृथ्वी र पृथ्वीलाई चन्द्रमाले घुम्ने क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीका बीचमा पर्छ, तब सूर्यग्रहण लाग्छ । ७ साउनको सूर्यग्रहण भारतबाट सुरु भएर जापानसम्म पुग्नेछ । भारत, नेपाल, बंगलादेश, म्यानमार, चाइना, प्यासिफिक ओसन र रुकोयु आइल्यान्डमा पूर्ण सूर्यग्रहण लाग्नेछ । वैज्ञानिकहरूले ग्रहण लागेका बेला सक्नेजति काम गर्दा नबिग्रने बताए पनि धार्मिक ग्रन्थअनुसार के गर्ने के नगर्ने भन्ने विषयमा थरीथरीका धारणा छन् ।

No comments: