News

Jun 4, 2009

इतिहासमै सबैभन्दा धेरै पाँच मन्त्री विनाविभागीयमन्त्री नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माधवकुमार नेपालले प्रधानमन्त्री निर्वाचत भएको एघारौँ दिनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको नेतृत्वको सरकारमा इतिहासमै सबैभन्दा धेरै विनाविभागीयमन्त्री नियुक्त भएका छन् ।

सत्तारुढ दलहरूको आन्तरिक विवाद र दलहरूबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिलेकोले धेरै मन्त्री अझै नियुक्त भएका छैनन् । नियुक्त भएका मन्त्रीको पनि मन्त्रालयको ठेगान छैन । दोस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदा प्रधानमन्त्रीकै दल एमालेका कुनै पनि नयाँ मन्त्री थपिएका छैनन् भने शपथ लिएका कांग्रेस, फोरम र मालेका आठजनामध्ये पाँचजनालाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।विगतमा गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, शेरबहादुर देउवाको नेतृत्वमा सरकार हुँदा र तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको समयमा पनि विनाविभागीयमन्त्री बनाइएका थिए । तर, विभाग नै नदिई एकैपटक पाँच-पाँचजनालाई मन्त्री बनाइएको यो पहिलोपटक हो । नवनियुक्त मन्त्रीहरूमा फोरमका विजय गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक, योजना तथा निर्माण, कांग्रेसकी सुजाता कोइरालालाई परराष्ट्र र मालेका डम्बर श्रेष्ठलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । अन्य पाँच मन्त्री पनि शपथ लिएर झन्डावाल गाडीमा घर फर्किएका छन्, तर बिहान कुन मन्त्रालय जाने भन्ने ठेगान छैन ।कांग्रेसका तर्फबाट मन्त्री बनाइएका डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, डा. मीनेन्द्र रिजाल, पूर्णकुमार शेर्मा र उमाकान्त चौधरीले कुनै पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । सुजाता यसअघि पिता गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको अन्तरिम सरकारमा विनाविभागीयमन्त्री थिइन् ।विभागीय जिम्मेवारीविना शपथ लिएका मन्त्रीहरूलाई राष्ट्रपति कार्यालयमा सरकारका मुख्यसचिव भोजराज घिमिरे नै जिस्काउँदै थिए । उनले ठट्यौली पारामा मन्त्री महतलाई जिम्मेवारी नपाउञ्जेल प्रधानमन्त्री कार्यालयमा आएर बस्ने, भेटघाट गर्ने र एमालेसित वार्ता गरेर समय बिताउन सुझाव पनि दिए । 'कुनै मन्त्रालय छैन, जिम्मेवारी पनि भएन । अब सरकारलाई चाँडो पूर्णता दिन प्रधानमन्त्रीका तर्फबाट एमालेसित वार्ता गर्नोस्,' शपथ लिइसकेपछि विनाविभागीयमन्त्री महतलाई मुख्यसचिव घिमिरेले भने । घिमिरेको कुरा सुनेर मन्त्री महत पनि मुसुमुसु हाँसे ।कुनै मन्त्रालयको जिम्मेवारी नपाएका मन्त्रीहरू आफूलाई 'विनाविभागीयमन्त्री' भन्न चाहँदैनन् । दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा छिनोफानो भइनसकेको अवस्थामा केही समयका लागि मात्रै आफू जिम्मेवारीविहीन रहनुपरेको उनीहरूको भनाइ छ । 'विनाविभागीय होइन, परिस्थितिले केही समयका लागि यस्तो भएको हो,' मन्त्री शेर्माले भने । जिम्मेवारी नपाएकोमा आफूलाई कत्ति पनि खल्लो नलागेको उनले बताए । 'कतिपय साथीहरूले त अझै मन्त्रीको शपथसमेत खान बाँकी छ, मलाई खल्लो लाग्ने कुरै भएन । केही समयका लागि हो, चाँडै मन्त्रालयको जिम्मेवारी आउँछ,' उनले भने ।उपप्रधानमन्त्री गच्छदार, परराष्ट्रमन्त्री सुजाता र वनमन्त्री श्रेष्ठ, विभाग नपाएका मन्त्रीहरू डा. महत, खाँण, डा. रिजाल, चौधरी र शेर्माराष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा नवनियुक्त उपप्रधानमन्त्री गच्छदारलाई पद तथा गोपनीयताको शपथ दिलाएपछि प्रधानमन्त्री नेपालले मन्त्रीहरूलाई शपथ खुवाएका थिए । गत ९ जेठमा प्रधानमन्त्री निर्वाचित भएका नेपालले ११ जेठमा पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसै दिन उनले एमालेका तर्फबाट सुरेन्द्र पाण्डे र विद्यादेवी भण्डारीलाई अर्थ र रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।नवनियुक्त परराष्ट्रमन्त्री सुजाताले शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन तथा सहमति र सहकार्यको राजनीतिलाई अगाडि बढाउने आफ्नो मुख्य जिम्मेवारी हुने बताइन् । 'यो सरकारको मुख्य काम शान्ति-प्रक्रियालाई टुंगोमा पुर्‍याउने र सहमतिको राजनीतिक वातावरण बनाउने हो । मेरो भूमिका पनि त्यही रहन्छ,' उनले पत्रकारहरूसित भनिन् ।

No comments: