News

Jun 16, 2009

गच्छदार पक्षका तीन सभासदमाथि सार्वजनिक मुद्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, असार २ - मधेसी जनअधिकार फोरम संस्थापन पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा तीन सभासद
बिरुद्ध सार्वजनिक मुद्दा दायर गरेको छ । संस्थापन पक्षले जेठ २७ गते वीरगन्जको सम्झना होटेलमा फोरम संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठक जारी रहेको अवस्थामा बैठक स्थलमा केन्द्रीय नेताहरुलाई आक्रमण गर्न खोजेको भन्दै सभासद करिमा बेगम, दुर्गादेबी महतो र कलावती पासवान लगायतका अन्य कार्यकर्तामाथि सार्वजनिक अपराधको जाहेरी दर्ता गराएको हो । मुद्दामा फोरम पर्साका जिल्ला उपाध्यक्ष बीरेन्द्र यादव र सहसचिव रबिन्द्र श्रीवास्तवलाई पनि बिपक्षी बनाईएको छ । बैठकस्थलमा दुबै पक्षबीच भएको झडपको विषलाई लिएर गच्छेदार समूहले संस्थापन पक्षका पर्सा जिल्ला अध्यक्ष शशिकपुर मिया समेत १८ नेता तथा कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधको जाहेरी दर्ता गराएको छ । यादव पक्षीय फोरमका जिल्ला अध्यक्ष शशिकपुर मियाँ, साबिरनाथ पाण्डे, नुर आलम, नासिर अन्सारी, साहिद अलि, तुफान अन्सारी, नेहाल खान, मोहन तुराह, र फिरोज मन्सुरमाथि सभासद करिमा बेगमले मुद्दा दर्ता गराएकी थिईन । यसैगरी अजय चौरसिया, प्रदीप यादव, संदीप यादव, मनोज कलवार, मिनु सिंह, सुनिता साह, उमेश सहनी र योगेन्द्र यादव बिरुद्ध पनि मुद्दा दर्ता परेकोे जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ । दुबै समूहले आफूहरुले सार्वजनिक अपराधको किटानी जाहेरी सहितको मुद्दा हाली सकेका व्यक्तिहरुलाई पर्सा प्रहरीले पक्राउ नगरी आरोपिहरु खुलेआम घुमीरहेकाले प्रहरीको उक्त कदमको भत्र्सना गरेका छन् । संस्थापन पक्षका अध्यक्ष शशिकपुर मिया र गच्छेदार पक्षका वीरेन्द्र यादबले यसरी प्रहरीको आलोचना गरेका हुन् ।
यादब यसअघि संस्थापन पक्षमा जिल्ला कार्य समिति उपाध्यक्ष थिए । दुबै समूहका कुनै पनि कार्यकर्तालाई पक्राउ गरे तत्कालै कडा बिरोध र बन्द, हडताल लगायतका प्रदर्शन सुरु हुने भएकाले पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गर्ने हिम्मत नगरको स्रोतको भनाई छ । आरोपित सभासदहरुले घटनाकै दिन पत्रकार सम्मेलन गरी आफूहरु उपर हातपात गर्ने व्यक्तिलाई कानुनी कारवाहीको दायरामा नल्याए सडकदेखि सदनसम्म ठूलो संघर्ष गर्ने घोषणा गरेका थिए ।

No comments: