News

Dec 17, 2008

नेपाली किशोरीहरूको क्रिकेट टोली सेमिफाइनलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली किशोरीहरूको टोली एसिसी यू-१९ वोमन्स च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा कुवेतलाई चार विकेटले पराजित गरेपछि नेपाली टोलीले सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले समूह चरणका चार खेलमा लगातार जित हासिल गर्दै उपाधिको प्रबल दाबेदारका रूपमा समेत आफूलाई प्रस्तुत गरेको छ । टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको कुवेतले १५ ओभरमा सम्पूर्ण विकेट गुमाई ३६ रनको योगफल तयार गरेको थियो । यसअघिका खेलमा झैं नेपाली बलरले प्रभावशाली प्रदर्शन गरेपछि कुवेत थोरै रनमा समेटिएको थियो । नेपालकी रेखा रावलले सात रन खर्चेर तीन, सोनु खड्काले १० रन खर्चेर दुई र केशरी चौधरीले आठ रन खर्चेर दुई विकेट लिएका थिए । प्रत्युत्तरमा आएको नेपाली टोलीले १२ ओभर एक बलमा ६ विकेट गुमाई ३८ रनको योगफल जोडेको थियो । सो योगफल तयार गर्न अविजित रहेकी नेरी थापाले १२ रनको योगदान दिइन् । नेपाली टोलीलाई विजयी लक्ष्यसम्म पुग्न कठिन बनाउने क्रममा कुवेतकी पि्रयदा मुरीले तीन रन खर्चेर तीन विकेट लिएकी थिइन् । उनी म्यान अफ द म्याचसमेत घोषित भइन् । नेपालविरुद्ध खेल्दा कुबेतलाई सधैं कठिन हुने गर्दछ । अझ झन् प्रतियोगिताकै अपराजित टोलीसँग नेपालविरुद्ध खेल्दा कुबेतमाथि दबाब पर्ने नै भयो । जुन दबाब टसदेखि नै कुवेतमाथि परेको थियो । टस हारेपछि टोलीले पहिले ब्याटिङको निम्तो पायो । तेस्रो ओभरको तीन बलमा अलिना डी सिल्भा र पि्रयदा मुरलीलाई गुमाएपछि कुवेत दबाबमा आएको थियो । यद्यपि, सिबोहान गोमेज -१८) ले टोलीको आशा केही जगाएकी थिइन् । तर, नेपालको चुस्त फिल्डिङ र बलिङका सामु अन्य ब्याट्सम्यानले खासै केही गर्न सकेनन् । समूह चरणमा नेपालको अन्तिम खेल चीनविरुद्ध शनिबार हुँदै छ ।

No comments: