News

Jul 8, 2009

चौथो पटक अनमिनको म्याद थपका लागि प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, असार २५ - संयुक्त राष्ट्रसंघसमक्ष नेपाल सरकारले मंगलबार चौथो पटक राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद थपका लागि प्रस्ताव गरेको छ । प्रस्तावमा अनमिनको म्याद ६ महिना बढाउन अनुरोध छ । अनमिनको म्याद आगामी साउन ८ मा समाप्त हुँदैछ । सरकारको तर्फबाट राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि मधुरमण आचार्यले दर्ता गराएको प्रस्तावमा आगामी छ महिनाभित्र शान्ति प्रक्रिया तार्किक निष्र्कषमा पुर्‍याउने प्रतिबद्धता छ ।महासचिव वान कि मुनलाई अनुरोध गरिएको पत्रमा आगामी छ महिनालाई अन्तिम मौकाका रूपमा उपयोग गर्न सरकारले कुनै कसर नछाड्ने दृढता छ । गत माघ १० मा तेस्रो पटक अनमिनको म्याद थप्नेक्रममा सुरक्षा परिषदले शान्ति प्रक्रियालाई सोही अवधिमा निष्कर्षमा पुर्‍याउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेको थियो । पटकपटक अनमिनको म्याद थप्नु राष्ट्रसंघका लागि असजिलो एवं बोझिलो बन्दै गएको परिषदको प्रतिवेदनमा उल्लेख थियो । निष्पक्ष संविधानसभाको निर्वाचन र शान्ति प्रक्रियाका लागि तत्कालीन सात पार्टी सम्मिलित सरकार र नेकपा माओवादीले राष्ट्रसंघका महासचिवलाई लिखित अनुरोध गरेपछि सुरक्षा परिषदले २०६३ माघ ९ मा अनमिन स्थापना गरेको थियो । स्थायी प्रतिनिधि आचार्यले कान्तिपुरलाई जनाएअनुसार आगामी साउन ५ मा बस्ने सुरक्षा परिषद बैठकमा नेपालबारे छलफल हुनेछ ।

No comments: