News

Jul 8, 2009

माओवादीले तीन करोडमा रिसोर्ट भवन किने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २५ - माओवादीको केन्द्रीय कार्यालय बुधबार राजधानीको कोटेश्वरनजिक पेरिसडाँडास्थित आफ्नै भवनमा सरेको छ । उसले करिब तीन करोड रुपैयाँमा त्यहाँको एक रिसोर्ट भवन किनेको हो ।अध्यक्ष पुष्पकमल दाहालले रिबन काटेर बुधबार नयाँ कार्यालय भवन उद्घाटन गरे । बैंकले लिलाम गरेको भवनलाई भ्रातृ संगठन अखिल नेपाल टे्रेड युनियन महासंघले करिब दुई महिनाअघि खरिद गरी आफ्नो नाममा बनाएको थियो । करिब १५ वर्षअघि पेरिस नामको रिसोर्ट खुलेपछि त्यस क्षेत्रलाई पेरिसडाँडा भन्न थालिएको हो । ललितपुरकी पद्मादेवी धाख्वाले ऋण तिर्न नसकेपछि राष्ट्रिय वाणिज्य बैंक विशालबजार शाखाबाट लिलामीमा परेको थियो । उनले रिसोर्ट सञ्चालनका लागि ऋण लिएकी थिइन् ।माओवादीले ऋण, साँवा र ब्याजसहित दुई करोड पाँच लाख रुपैयाँ बैंकलाई बुझाएको थियो । भवन मर्मत र धाख्वाको अन्य ऋण तिर्दा करिब तीन करोड रुपैयाँ लगानी भएको माओवादीले जनाएको छ । भवन रहेको जग्गाको क्षेत्रफल दुई रोपनी १३ आना छ । केन्द्रीय कार्यालय सचिव नारायण दाहालले भवन पार्टीको नाममा बनाउन करिब तीन करोड रुपैयाँ खर्च भएको जानकारी दिए । उनले आफ्नै भवनमा सरेपछि पार्टी व्यवस्थित हुने बताए । 'अब कार्यालय व्यवस्थित हुनेछ,' उनले कान्तिपुरसँग भने, 'यसलाई आधुनिकरण पनि गरिनेछ ।' यसअघि माओवादी केन्द्रीय कार्यालय तीन वर्षदेखि बुद्धनगरस्थित निजी घरमा मासिक ३० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको थियो ।माओवादी निकट राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष शिवप्रसाद कट्टेलले भवन खरिदका लागि सुरुदेखि पहल गरेका थिए । उनले भवन खरिदका लागि करिब दुई वर्ष लागेको बताए । उनले यसबीचमा पुनरावेदन अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा चल्दै आएका जग्गा रोक्का, ठगीलगायत विभिन्न प्रकृतिका करिब डेढ दर्जन मुद्दामा मिलाएको उल्लेख गरे । 'पार्टीको लागि बैंक, अदालत, स्थानीयवासीले सहयोग गरे' उनले कान्तिपुरसँग भने, 'सबैको सहयोगबिना यो काम सम्भव थिएन ।' भवनमा ४९ कोठा र करिब डेढ सय अट्ने एक हल छ । केन्द्रीय समिति बैठकका लागि हल भने माओवादीले यसै साता बनाएको हो । करिब ६० प्रतिशत केन्द्रीय सदस्यका आफ्नै गाडी भएकाले कार्यालयमा अट्ने सम्भावना भने कम छ । उसले भवनअगाडि रहेको अदालतमा मुद्दा चलिरहेको करिब डेढ रोपनी जग्गा खरिद गर्ने सोच बनाएको जनाएको छ । ट्रेड युनियन, उद्योग व्यापार किसान, महिला, शिक्षकलगायत करिब दर्जन भ्रातृ संगठनका केन्द्रीय कार्यालय उक्त भवनमा छन् ।

No comments: