News

Jul 8, 2009

माओवादीको १८ वर्षदेखि महाधिवेशन भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २४ - विगत अठार वर्षदेखि माओवादीको राष्ट्रिय महाधिवेशन हुन सकेको छैन । २०५१ मा माओवादी नामाकरण भएदेखि एकपटक पनि महाधिवेशन भएको छैन । राष्ट्रिय राजनीतिक संकट र आन्तरिक तयारी नभएका कारण महाधिवेशन पर सरेको माओवादीले जनाएको छ । 'राष्ट्रिय राजनीतिक अवस्था र आन्तरिक तयारी नपुगेकाले असारमा हुन सकेन' प्रवक्ता दीनानाथ शर्माले कान्तिपुरसँग भने, 'यो केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ ।' उनले यो वर्षभित्रै महाधिवेशन हुने बताए । महाधिवेशन सट्टा राष्ट्रिय सम्मेलन गर्ने विषयमा पार्टीमा छलफल भएको छ । तर महाधिवेशनमा जानुपर्ने विषयमा अधिकांश केन्द्रीय सदस्यको जोड रहेको स्रोतले जनाएको छ । मंसिरको पहिलो साता भक्तपुरको खरिपाटीमा भएको राष्ट्रिय कार्यकर्ता भेलाले असारमा महाधिवेशन गर्ने निर्णय गरे पनि हालसम्म कुनै टुंगो लागेको छैन । माओवादी बन्नुअघि तत्कालीन एकता केन्द्रको महाधिवेशन २०४८ मा भएको थियो । २०५१ मा एकता केन्द्रको नाम परिवर्तन गरी माओवादी गठन भएको हो । गतसाता राजधानीमा सम्पन्न पोलिटब्युरो बैठकले महाधिवेशनको मिति तोक्ने तय भनिए पनि अन्त्यमा स्थगित गरिएको थियो । पोलिटब्युरोले केन्द्रीय समितिले महाधिवेशन मिति तोक्ने गरी स्थगित गरेको हो । बुधबारदेखि सुरु हुने पूर्ण केन्द्रीय समितिको बैठको मुख्य एजेन्डा महाधिवेशन पनि छ । 'महाधिवेशन र सांगठनिक मुख्य एजेन्डा छन्,' वरिष्ठ नेता मोहन वैद्यले कान्तिपुरसँग भने, 'बाँकी एजेन्डा बैठकले तय गर्नेछ ।' एकता केन्द्र मसालसँगको एकतापछि पथप्रदर्शक सिद्धान्तका रूपमा रहेको 'प्रचण्डपथ' उसले हटाइसकेको छ । त्यस्तै माओवाद कि माओ विचारधाराको टुंगो महाधिवेशनले लगाउने नेताहरूले बताएका छन् । प्रचण्डपथका विषयमा पनि महाधिवेशनमा छलफल हुनेछ । अध्यक्ष पुष्पकमल दाहालले विगत १८ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् । २०४६ को जनआन्दोलन अघि तत्कालीन नेकपा मशालको नेतृत्व पनि दाहालले गरेका थिए । मशालका तत्कालीन महासचिव मोहन वैद्यले २०४१ मा दाहाललाई नेतृत्व सुम्पेका थिए । महाधिवेशन हुने बेला तत्कालीन एकता केन्द्र शान्तिपूर्ण राजनीतिमा थियो । हाल पनि माओवादी सशस्त्र युद्ध समाप्त गरी शान्तिपूर्ण बाटोमा आएको छ । यो अवधिमा उसले १० वर्ष सशस्त्र द्वन्द्वमा बिताएको छ भने तीन वर्ष संसदीय राजनीतिमा । अठार वर्षमा पार्टीको दुईवटा राष्ट्रिय सम्मेलन भएका छन् । २०५१ मा चितवन र दोस्रो २०५७ मा भारतको हरियाणामा राष्ट्रिय सम्मेलन भएको थियो । पहिलो सम्मेलनले सशस्त्र युद्ध सुरु गर्ने निर्णय गरेको थियो । दोस्रो सम्मेलने 'सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचन सुनिश्चित गर्ने र गणतन्त्रको स्थापना गर्ने' कार्यनीति बनाएको थियो ।

No comments: