News

Jul 8, 2009

स्थानीयवासीको कुटाइबाट दुई युवकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बालक अपहरणको आरोपमा स्थानीयवासीको निर्मम कुटाइबाट मंगलबार मध्यपुर ठिमीमा दुई युवकको ज्यान गएको छ । मध्यपुर ठिमीको चपाचो चोकमा ठिमीवासीको निर्मम कुटाइबाट अन्य दुई युवक गम्भीर घाइते भएका छन् ।घाइते दुवैको अवस्था चिन्ताजनक छ । टाउकोमा गम्भीर चोट लागेका वसन्त लामा र सुजन थापामगरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका लामा र थापामगर काठमाडौं कोटेश्वरमा रहेको नवज्योति बोर्डिङ स्कुलका कक्षा नौका विद्यार्थी हुन् । दुवै मृतकको पहिचान खुलेको छैन ।ठिमीवासीले मृतक र घाइतेलाई अपहरणकारी भएको आरोप लगाए पनि प्रहरीले भने दुई समूहबीचको झगडाका कारण सो घटना भएको बताएको छ । प्रहरीका अनुसार सोमबार वसन्त लामा र ठिमीका स्थानीय युवकबीच झगडा भएको थियो । वसन्त एक्लै भएकाले उनी सोमबार त्यत्तिकै फर्किए र मंगलबार बदला लिन भन्दै आफ्ना नौजना साथी लिएर ठिमी गएका थिए ।
सोमबार झगडा भएको समूह र लामा समूहबीच ठिमी-५ मा रहेको धुन्चेपाखामा मध्याह्न साढे एक बजे झगडा भएको थियो । लामा समूहमाथि ठिमीका युवा हावी भएपछि उनीहरू भाग्दै ठिमी-१० मा रहेको चपाचो चोक आइपुगे । उनीहरूलाई त्यहाँ स्थानीयवासीले घेरेका थिए । लामा समूहलाई लखेट्दै आएका युवाले उनीहरू बच्चा अपहरणकारी भएको बताएपछि स्थानीयवासीले निर्घात कुटेका थिए ।कुटाइ खाएका युवाहरू अपहरणकारी भएको र उनीहरूले धुन्चेपाखामा रहेको हिमचुली इंग्लिस स्कुलमा अध्ययनरत एक विद्यार्थीलाई चक्लेट खुवाएर फकाउँदै ट्याक्सीमा हालेर अपहरण गर्ने प्रयास गरेको चपाचोवासीले आरोप लगाएका थिए । सोही स्कुलमा अध्ययनरत विद्यार्थी मनोज मोक्तान सोमबारबाट सम्पर्कविहीन भएकाले लामा समूह अपहरणकारी भएको ठानेर स्थानीयवासीले उनीहरूमाथि आक्रमण गरेका थिए । सोमबारबाट सम्पर्कविहीन बालक मोक्तान मंगलबार सम्पर्कमा आइसकेका छन् ।महानगरीय प्रहरी वृत्त ठिमीबाट गएको प्रहरी टोलीले स्थानीयवासीको कुटाइबाट गम्भीर घाइते भएका चारजनालाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो । अस्पताल ल्याएलगत्तै घाइते एक युवकको मृत्यु भएको थियो भने अर्को एक युवाको उपचारका क्रममा मृत्यु भएको थियो ।घाइते युवाको उद्धार गरेपछि आक्रोशित स्थानीयवासीले अपहरणकारीलाई जोगाएको भन्दै ठिमी वृत्त घेरेका थिए । प्रहरीले लामा समूहकै अनुप विकलाई पक्राउ गरे पनि कुटपिटमा संलग्न अन्य कसैलाई पक्राउ गरेको छैन ।महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी मदन केसरीले प्रारम्भिक अनुसन्धानमा दुई समूहबीचको झगडाका कारण घटना भएको बताए । उनले मृतकको पहिचानका लागि आफन्तहरूको खोजी सुरु गरिएको बताए ।

No comments: