News

Apr 26, 2012

उत्तर कोरियाली राष्ट्रपति नेपाल आउन इच्छुक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वैशाख १४ -कम्युनिष्ट राष्ट्र उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले नेपाल भ्रमण गर्ने इच्छा देखाएका छन्। उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को स्थायी समिति अध्यक्ष किम भर्खरै सर्वोच्च नेता बनाइएका किम जोङ उन पछिका दोस्रो उच्च अधिकारी हुन्। उत्तर कोरियाका लागि गैरआवासीय नेपाली राजदूत महेश मास्केबाट ओहदाको प्रमाणपत्र बुझ्ने क्रममा राष्ट्रपति किमले परराष्ट्र उपमन्त्री हुँदा नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः आउने इच्छा देखाएका हुन्। कोरियाली नेता किम इल सुङको सयौं जन्मोत्सव विशेष समारोहको अवसरमा बेइजिङस्थित राजदूत मास्केलाई अघिल्लो साता प्योङयाङ बोलाइएको थियो। मास्केका अनुसार गैरआवासीय राजदूतको प्रमाणपत्र बुझेपछि राष्ट्रपति किमले करिब एक घन्टा नेपाल उत्तर कोरिया सम्बन्धबारे छलफल गरेका थिए। 'उत्तर कोरिया र नेपालको परराष्ट्र मन्त्रालयबीच संयुक्त संयन्त्र बनाएर द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनेबारे छलफल भएको छ,' बेइजिङ फर्केका मास्केले भने, 'नेपालका परराष्ट्र सचिव, परराष्ट्रमन्त्री र त्यसपछि राष्ट्रप्रमुख तहमै भेटवार्ताका लागि कोरियाको नेतृत्व इच्छुक छ।' परराष्ट्र र स्वस्थ्यमन्त्रीसँगको भेटवार्तामा रेलमार्ग, जलविद्युत र हर्बल मेडिसिन सम्बन्धी कोरियाली अनुभव नेपालका लागि पनि उपयोगी हुने छलफल भएको मास्केले बताए। नेपाल र उत्तर कोरियाबीच १९६९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २००९/२०१० मा उत्तर कोरियाबाट नेपालले करिब २० करोड १५ लाख रुपैयाँको सामान आयात गरे पनि निर्यात शून्य छ। चार महिनाअघि उत्तर कोरियाका नेता किम जोङ इलको हदयाघातबाट मृत्यु भएपछि २८ वर्षीय छोरा किम जोङ उनले शासन हातमा लिएका थिए। उनी सेनाको कमान्डर इन चिफ र कोरियाली श्रमिक पार्टीको सर्वोच्च नेता हुन्। चीनको बलियो साझेदार आणविक राष्ट्र उत्तर कोरियाले अमेरिका लगायत पश्चिमा राष्ट्रको कडा आर्थिक नाकाबन्दी सामना गर्दै आएको छ। किम जोङ इलको मृत्युप्रति समवेदना जनाउँदै नाति उनलाई सन्देश पठाउने थोरै राष्ट्रमध्ये नेपाल पनि थियो। एक साता प्योङयाङ बस्ने क्रममा सर्वोच्च नेता किम जोङ उनसँग हात मिलाउने अवसर मात्र पाएका मास्केको अनुभव छ, 'सबै भेटघाट र समारोह हेर्दा किमको मृत्युपछि उत्तर कोरिया कमजोर भएको छैन, हामी युवा किमवरिपरि छौं भन्ने सन्देश दिन खोजेको भान हुन्थ्यो।'

No comments: