News

Apr 21, 2012

लिम्बुवानका लागि लिम्बुवानभर राँके जुलुश सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लिम्बुवान, बैशाख ८, २०६८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यसहितको संविधान जारी हुनुपर्छ भन्दै बैशाख ८ गते लिम्बुवानभर राँकेजुलुश प्रदर्शन गरेको छ । यस शान्तिपूर्ण राँके जुलुशप्रदर्शनमा लिम्बुवानको विभिन्न ठाउँमा प्रहरी प्रशासनबाट निर्मम हस्तक्षेप र क्रूर दमन भएको छ । प्रहरी दमन र हस्तक्षेपको क्रम्मा उर्लाबारी, मोरङमा एलभी बिजय लिम्बू लाई गिरफ्तार गरिएको छ । धरान, सुनसरीमा शान्तिपूर्ण रुपमा राँकेजुलुश प्रदर्शन गर्ने लिम्बुवानका नेतृत्व तथा कार्यकर्ताहरु शिक्षक परिषद जिल्ला सदस्य मुक्साम लावती, धरान नगर सदस्य हेम लिम्बू, तथा एलभीहरु जोन लिम्बू र राज लिम्बूहरु सख्त घाइते भएका छन् । पत्थरी, मोरङमा लिम्बुवान राँकेजुलुश प्रदर्शनलाई एकात्मक प्रहरी प्रशासनद्वारा निर्मम हस्तक्षेप र दमन गरिएको छ । लिम्बुवान सबै जिल्लाहरु झापा, मोरङ, सुनसरी, इलाम, पान्थर, ताप्लिजोङ, तेह्रथुम, धनकुटा र सङ्खुवासभामा लिम्बुवानी राँकजुलुश आन्दोलन पूर्ण सफल भएको छ । संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र ऐतिहासिक पृष्ठूभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका ९ जिल्लालाई आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितता गराउन दबाव र खबरदारीस्वरुप यो राँकेजुलुश प्रदर्शन गरिएको हो । यसमा एकात्मक प्रहरी प्रशासनबाट भएको क्रूर मदन र निर्मम हस्तक्षेपको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद घोर विरोध र भर्त्सना गरेको छ । लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ- "अब यस्ता हस्तक्षेप र दमनले संघीय-लिम्बुवान आन्दोलन एक इञ्च पनि पछि हट्ने छैन । बरु झन आक्रोश र सशक्तताका साथ अघि बढ्नेछ । यसक्रम्मा कुनै एकात्मक शक्तिले रोकेर रोक्नसक्ने छैन । चेतना होस् र विवेक रहोस् ।" साथै सोही बिज्ञप्तिमार्फत लिम्बुवानका घाइते नेता तथा कार्यकर्तालाई एकात्मक प्रशासनबाटै उपचार हुनुपर्ने र गिरफ्तार गरिएका कार्यकर्तालाई विनार्सत तुरुन्त रिहा गर्नु पर्ने भनिएको छ। अन्यथा, लिम्बुवान थप सशक्त आन्दोलनको घोषणा गरी अघि बढ्न बाध्य हुनेसमेत जनाइएको छ । र, त्यसको सम्पूर्ण जिम्मेवारी एकात्मक राज्यले लिनुपर्ने जनाइएको छ । - डीबी आङ्बुङ् लिम्बू

No comments: