News

Apr 17, 2012

प्रधानमन्त्रीलाई पहिलो ग्यास उपभोक्ता कार्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले आमजनताले सहजरुपमा खाना पकाउने ग्यास प्राप्त गरुन भन्ने उद्देश्यले आजदेखि कार्ड वितरण शुरु गरेको छ । प्रधानमन्त्री भट्टराईलाई ग्यास उपभोक्ता कार्ड वितरण गरी कार्ड वितरण प्रक्रियाको औपचारिक रुपमा शुरु गरेको हो । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रमा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई एक नम्बरको कार्ड वितरण गरेका हुन् । घरयासी प्रयोजनको लागि रातो कार्ड र औद्योगिक प्रयोजनका लागि नीलो कार्ड वितरण गर्ने योजना नेपाल आयल निगमको रहेको छ । निगमका अनुसार बैशाखभित्रमा काठमाडौं उपत्यकामा कार्ड वितरण गरिसक्ने लक्ष्य रहेको छ । जेठ १५ पछि मात्र उपत्यका बाहिरका जिल्लामा कार्ड वितरणको गर्ने निगमको योजना रहेको छ । उपभोक्तालाई कति ग्यास चाहिने हो त्यसको लगत राख्नका लागि कार्ड विवरण गर्न लागेको निगमले जनाएको छ । योजना अनुसार घरायसी प्रयोजनका लागि प्रतिमहिना चारजनाको परिवारलाई एक सिलिन्डर ग्यास उपलब्ध हुनेछ । कार्ड भएका उपभोक्तालाई सरकारले तोकेअनुसार अनुदानसमेत उपलब्ध गराउने जानकारी निगमले दिएको छ । सर्वसाधारणले कार्ड प्राप्त गर्न नजिकका ग्यास डिलरमा गएर रु १० को फर्म भर्नुपर्ने प्रावधान पनि निगमले बनाएको छ । यस्तै निगमले केहि समयभित्रै औद्योगिक प्रयोजनका लागि १९ केजीको सिलिन्डर बजारमा ल्याउने भएको छ । कार्ड वितरणको लागि ग्यास उत्पादक संघ र ग्यास विक्रेता महासंघसँगको सहकार्य निगमले आजैबाट थालेको छ ।

No comments: