News

Apr 13, 2012

गाविस कार्यालय झोलामा, सम्पर्क केन्द्र बन्यो मोबाइल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १- म्याग्दीको पाखापानी गाविसको भवन नहुँदा सेवा प्रवाहमा समस्या परेको छ। गाविस सचिवले आफ्नो झोलामा कागजपत्र राखेर गाविसको काम गर्दै आएका छन्। द्वन्द्वका समयमा सदरमुकाममा विस्थापित भएको गाविसको कार्यालय पुनस्थापना भएको वर्षौ बिते पनि भवन नहुँदा सेवाग्राहीलाई मर्का परेको हो। गाविस भवन निर्माणका लागि पहल नहुँदा समग्र गाविसको कार्यालय झोलामा सीमित बनेको हो। गाविस सचिव बलबहादुर खत्रीले गाविसको भवन नभएकाले झोलामा कागजपत्र राखेर काम गर्दै आएको बताए। जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता र अन्य विकास निर्माणका काम गर्न, भेला र छलफल गर्नका लागि भवन अभावमा समस्या परेको सचिव खत्रीले बताए। गाविसका महत्वपूर्ण कागजपत्र, निर्णय पुस्तिका, फाइल र अन्य सामान सुरक्षित राख्‍नका लागिसमेत समस्या भएको छ। गाविसको काम स्थानीयबासीको घर र पसलबाट गर्नुपर्ने बाध्यता छ। 'शान्ति स्थापनापछि सबैभन्दा पहिले गाविस कार्यालय पुनस्थापना गरे पनि नयाँ भवन बनाउन सम्बन्धित निकायले बेवास्ता गर्दा व्यवस्थित तरिकाले सेवा दिन सकिएको छैन'- सचिव खत्रीको भनाइ छ। भेला र छलफल गर्नुपरेमा अमर मावि पाखापानीको भवन प्रयोग गर्ने गरिएको सचिव खत्रीले बताए। स्थानीयवासीले सचिवलाई मोबाइलमा सम्पर्क गर्ने र जहाँ भेट हुन्छ त्यही सेवा लिने गरेको बताएका छन्। गाउँ र इलाका परिषदबाट भवनका लागि माग गरे पनि जिल्ला परिषदमा आफूहरुको समस्याले कहिल्यै स्थान नपाएको एकीकृत नेकपा (माओवादी) का गाविस प्रतिनिधि हरिलाल पाइजाले गुनासो गरे। गाविस भवनको लागि योजना परेमा आफूहरुले निःशुल्क जग्गा उपलब्ध गराउन र श्रम गर्न तयार भए पनि बेवास्ता गरिएको पाइजाले बताए। यसैबीच दरबन्दी भए पनि पाखापानी गाविसमा पात्लेखेत गाविसका सचिव खत्रीले जिम्मेवारी सम्हाल्दै आएका छन्। तीन वर्षदेखि दुई गाविसको जिम्मेवारी लिएका सचिव खत्रीले दुईवटा गाविसको काम गर्न समस्या परेको गुनासो गरे पनि जिविसले छुट्टै सचिव नपठाएको बताए।

No comments: