News

Apr 13, 2012

बाग्मती किनारका सुकुम्बासीलाई हटाउन सरकारले तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्मती नदी किनारका सुकुम्बासीलाई हटाउन सरकारले तयारी तिब्र बनाएको छ । वैशाख दोस्रो सातादेखि नदी किनारका सुकुम्बासीलाई हटाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सरोकारवालाको बैठकले निर्णय गरेको छ । बैठकले ९ वैशाखसम्म राहत वितरण गर्ने र त्यसपछि सुकुम्बासी हटाउने निर्णय गरेको अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । ‘पहिलो चरणमा थापाथली र टेकुका सुकुम्बासीलाई ९ वैशाखसम्म राहत वितरण र त्यसपछि हटाउन थाल्ने निर्णय भयो,’ समितिका अध्यक्ष महेशबहादुर बस्नेतले भने, ‘त्यसपछि दोस्रो चरणमा तिलगंगादेखि मीनभवन र तेस्रो चरणमा शंखमूलका सुकुम्बासीलाई हटाउँछौँ ।’ उनले चालु आर्थिक वर्षभित्रै ती क्षेत्रका अव्यवस्थित बसोबास र मापदण्डविपरीत बनेका संरचनासमेत हटाइसकिने बताए । बैठकले सुकुम्बासीलाई तत्काल राहतबापतको रकम ३ वैशाखदेखि दिने निर्णय गरेको छ । बैठकमा समिति, सहरी विकास तथा भवन निर्माण विभाग, भौतिक योजना तथा निर्माण मन्त्रालय, सुरक्षा निकायलगायत सरोकारवाला निकायका प्रतिनिधि उपस्थित थिए । बैठकको निर्णयअनुरूप ३ वैशाखदेखि सुकुम्बासीको घर नम्बरिङ गरेर तत्काल राहतबापतको प्रतिपरिवार १५ हजार रुपियाँ वितरण गरिनेछ । विभागका अनुसार ३ देखि ९ वैशाखसम्म थापाथली र टेकुका एक सय ९० परिवार सुकुम्बासीको घर पहिचान, नम्बरिङ गरेर विवरणअनुसार सही ठहरिएकालाई सात दिनसम्ममा छाप्रो खाली गर्ने कागज गराएर रकम प्रदान गरिनेछ । सरकारले एक महिनाअघि गरेको प्रमाणीकरणअनुसार तिलगंगादेखि टेकुसम्म नदीको जग्गा अतिक्रमण गरी बसेका एक हजार ८४ परिवार सुकुम्बासी छन् । तीमध्ये थापाथलीको प्रसूतीगृह आसपास ७० र टेकुमा एक सय २० गरी एक सय ९० परिवारलाई पहिलो चरणमा हटाउने प्रक्रिया थाल्न लागिएको हो । समितिका अनुसार बाग्मती, विष्णुमती, मनोहरा र धोबीखोलामा गरेर करिब तीन हजार पाँच सय छाप्राका करिब १५ हजार सुकुम्बासी छन् ।

No comments: