News

Apr 27, 2012

विश्व बौद्ध सम्मेलन हङकङमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 वैशाख १५ -चीनले आयोजना गरेको तेस्रो विश्व बौद्ध सम्मेलन बुद्ध मन्त्रोच्चारणसाथ हङकङमा बिहीबार सुरु भएको छ। ५० भन्दा बढी देशका करिब हजार भिक्षु र बौद्ध अध्येता सहभागी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै संस्कृतिमन्त्री गोपाल किरातीले लुम्बिनी भ्रमण गरी विकासमा सहयोग गर्न आग्रह गरे। बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको १५ औँ वर्षगाँठको अवसर पारेर पहिलो पटक हङकङमा बौद्ध सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा सामाजिक सद्भाव र शान्तिपूर्ण विश्व निर्माणका लागि बौद्ध धर्मको भूमिकाबारे दुई दिन छलफल हुने बताइएको छ। चीनको नानजिङबाट विशेष विमानद्वारा हङकङ ल्याएर प्रदर्शनमा राखिएको बुद्धको खप्परको अवशेष सम्मेलनको मुख्य आकर्षण बनेको छ। चीनको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन हङकङ आएका मन्त्री किरातीले उद्घाटन समारोहमा बोल्ने क्रममा लुम्बिनीलाई विश्वको पवित्र तीर्थस्थलको रूपमा विकास गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा आग्रह गर्ने उद्देश्यले भ्रमण वर्ष कार्यक्रम आयोजना गरिएको बताए।

No comments: