News

Apr 27, 2012

काठमाडौँ नगर विकास आयुक्तमा पूर्व मेयर केशव स्थापित नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 वैशाख १५,काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तमा सरकारले पूर्व मेयर केशव स्थापितलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थापितलाई पाँच वर्षका लागि नियुक्त गरेको हो। स्थापित पछिल्लो पटक भएको स्थानीय निर्वाचनमा अत्यधिक मतका साथ मेयर निर्वाचित भएका थिए। काठमाडौँमा सडक अतिक्रमण गरी बनाइएका घरहरु भत्काउने र सडक फराकिलो पार्ने अभियानको नेतृत्व गरिरहेको नगर विकास समिति भङ्ग भएपछि प्राधिकरणको गठन भएको हो। स्थापितले आफू मेयर निर्वाचित हुँदा रानीपोखरी-रत्नपार्क फराकिलो पार्ने, कलंकीको बाटो फराकिलो पार्ने, माइतीघर मण्डल बनाउने आदि कामबाट लोकप्रियता हासिल गरेका थिए। राजाको प्रत्यक्ष शासनकालमा गराइएको स्थानीय निर्वाचनमा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएका स्थापितले पछि माओवादीको दबाबका कारण उम्मेदवारी फिर्ता लिएका थिए। उनले पछिल्लो पटक प्रजा परिषद् पार्टीको नेतृत्व सम्हालेका थिए तर त्यहाँ केही गर्न नसकेपछि उनी आफ्नै पुरानो पार्टी एमालेमा फर्किएका थिए। एमाले फुट्दा मालेमा लागेका स्थापितको अहिले एमालेमा कुनै प्रभाव देखिँदैन। स्थापितले नदी किनारका सुकुम्बासीलाई हटाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।

No comments: