News

Apr 20, 2012

२८ अधिकृतसहित ९५ कर्मचारी छड्केमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
उदयपुर, वैशाख ८ - जिल्ला प्रशासन कार्यालयले नौवटा सरकारी कार्यालयमा शुक्रबार गरेको छड्के अनुगमनमा कार्यालय प्रमुखसहित ९५ जना कर्मचारी अनुपस्थित भएको पाइएको छ। छड्के पर्नेमा चार कार्यालय प्रमुख, चार उपसचिवस्तरका अधिकृत, २० अधिकृत र बाँकी नायव सुब्बा, खरिदार र कार्यालय सहयोगी छन्। जिल्ला प्रशासनका प्रशासकीय अधिकृत झलकराम सुबेदीका अनुसार विहान साढे १० देखि साढे ११ बजेसमम गरिएको छड्केमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर पुष्कर पोखरेल, स्वास्थ्य कार्यालय प्रमुख डा. चुमनलाल दास, नापी अधिकृत धीरेन्द्रप्रसाद देव र महिला विकास अधिकृत ज्ञानु अधिकारी हाजिर नगरी कार्यालय छाड्नेमा परेका थिए। प्रशासनका नायव सुब्बात्रय बासुदेव खतिवडा, चन्द्रबहादुर कार्की, युवराज बास्तोला र कृष्ण ढुंगानाको टोलीले गरेको छड्केमा सबभन्दा बढी स्वास्थ्यमा ३० जना अनुपस्थित भेटिएका छन्। स्वास्थ्यमा मेडिकल सुपरिटेण्डेन्टदेखि मेडिकल अधिकृत तीन र बाँकी सिअहेव, अहेव, मासिका र ग्रास्वाका रहेका छन्। त्यस्तै कर्मचारीको अर्को ठूलो संख्या अनुपस्थित भेटिएको कार्यालय जिल्ला विकास समिति हो। त्यहाँ योजना अधिकृतलगायत पाँच अधिकृतसहित २३ कर्मचारी अनुपस्थित रहेको अर्का नासु चन्द्रबहादुर कार्कीले बताए। जिल्ला शिक्षा कार्यालयमा उपसचिवस्तरका चार अधिकृतलगायत तीन अधिकृत र बाँक नासु र खरिदार छड्केमा परेका छन्। प्राविधिक कार्यालयमा प्रमुख इन्जिनियर पोखरेललगायत चार इन्जिनियरसहति ७ जना अनुपस्थित भेटिएको टोली सदस्य युवराज बास्तोलाले बताए। प्रमुख अधिकृत ज्ञानु अधिकारीलगायत महिला विकास तथा बालबालिका कार्यालयमा ७ कर्मचारी छड्केमा परेका छन् भने सिँचाई सव डिभिजनमा दुई इन्जिनियर छड्केमा परेका छन्। प्रशासनले छड्केमा पर्ने सबै कर्मचारीलाई तीनदिनभित्र चित्तबुझ्दो जवाफ नदिए सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गरिने प्रशासकीय अधिकृत सुबेदीले बताए। प्रशासनले दुईसाताअघि मात्र जिल्लाका आधादर्जन कार्यालयमा छड्के जाँच गरेको थियो। त्यसमा तीन कार्यालय प्रमुखसहित २८ कर्मचारी छड्केमा परेका थिए । टोली प्रमुख खतिवडाका अनुसार छड्के पर्ने कर्मचारीहरुले एकदेखि सातदिनसम्मको हाजिरी नगरेको अभिलेख फेला परेको छ। अधिकांश कर्मचारीको पाँचदिनदेखि अनुपस्थिति रहेको हाजीर खाताले जनाएको उनले बताए। छड्के पर्ने कार्यालय प्रमुखहरुले भने भुलवश हाजीर गर्न नभ्याएको दावी गरेका छन्। स्वास्थ्य कार्यालय प्रमुख डा. चुमनलाल दासले आफु तीनदिनअघि नै विदा लिएर काठमाडौं गएको बताए। उनले डा. विवेक साहलाई निमित्त दिएर हिडेको र सो को जानकारी प्रशासनमा पनि दिएको बताए। विदा लिएपछि प्रशासनले नै हाजिर भरिदिनुपर्नेमा भुलवश नभरेको हुनसक्ने दासले बताए। निमित्त पाउने डा. साह पनि छड्केमा परेका छन्। दासका अनुसार स्वास्थ्यका अधिकांश कर्मचारी प्राविधिक भएकाले धेरैजसो फिल्डमा खट्नपर्ने भएकाले हाजीर गर्न नभ्याएर पनि छड्के पर्ने बताए। महिला विकास अधिकृत ज्ञानु अधिकारीले कार्यालयमा निमित्त प्रमुख छाडेर विभागको बोलाहटमा काठमाडौं गएको बताइन्। उनले सो पत्रको बोधार्थ प्रशासनलाई पनि दिएको भएपनि छड्केमा परेको सुन्दा अचम्म लागेको बताइन्। प्रशासनले सेवाग्राहीको कामकाज चुस्त, दुरुस्त र छिटोछरितो गरी प्रभावकारी सेवा गर्न बेलाबेलामा छड्के अनुगमन गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले बताए।

No comments: