News

Apr 16, 2012

फेरि बस्ने गरी हात्तीवन बैठक सकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ४ - हात्तीवनस्थित एक रिसोर्टमा दुई चलेको 'निर्णायक' छलफल सोमबार साँझ बिना निष्कर्ष सकिएको छ । पौने पाँच बजे रिसोर्टबाट निस्किएका एमाले अध्यक्ष झलनाथ खनालले नमिलेको विषयमा बुधबार पुनः छलफल हुने जानकारी दिए । विवादित चार वटै विषयमा गम्भीर छलफल भएको उनले बताए । हात्तीवनस्थित 'हात्तीवन हिमालय हाइट रिसोर्ट'मा आइतबार दिउँसोदेखिको 'आवासीय' छलफलमा शीर्ष नेताहरुबीच द्विपक्षीय र सामूहिक कुराकानी भएको छ । बिहान सवै दलका नेताहरुबीच सामूहिक छलफल, १० बजेदेखि खानापछिसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चा संयोजक विजयकुमार गच्छदारबीच छलफल भएको थियो भने दिउँसोदेखि पुनः सवै शीर्ष नेताहरुबीच सामूहिक छलफल भएको थियो । बैठकमा सहभागी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले तत्काल सहमति नभए पनि बैठक सकारात्मक रहेको प्रतिक्रिया दिए । 'आजै ठोस सहमति भएन,' उनले भने, 'तर बैठक मिल्ने मिल्ने अवस्थामा पुगिसकेको छ ।' दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा विवाद छ । विवादित विषयलाई टुंगो लगाउने अन्तिम मिति मंगलबार भएकाले दलहरुले सघन छलफल सुरु गरेका हुन् । विवादित विषयमा सहमति नभए संविधानसभामा मत विभाजन हुनेछ ।

माओवादीजस्तै त्याग गरः प्रधानमन्त्री
प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीले शान्ति प्रक्रियामा लचकता अपनाएजत्तै संविधान निर्माणमा अन्य दललाई त्याग गर्न सुझाव दिएका छन् । हात्तीवनस्थित 'हात्तीवन हिमालय हाइट रिसोर्ट'मा सोमबार कांग्रेस, एमाले र मधेसी मोर्चाका नेतालाई प्रधानमन्त्रीले सहमतिका लागि लचक हुन आग्रह गरेको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाएका छन् । 'तपाईंहरुको पार्टीभित्रको बाध्यता बुझ्दै हाम्रो पुतला जल्दा पनि हामी लचक भएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍यायौं,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै विश्वदीपले भने, 'त्यस्तै तपाईंहरुले पनि अब संविधान निर्माण प्रक्रियामा माओवादी पार्टीभित्रको बाध्यता/अन्तरविरोधलाई बुझ्दै त्यही अनुसार संविधान निर्माणमा सहयोग गर्नुपर्‍यो ।'

No comments: