News

Apr 21, 2012

लिम्बुवानको पश्चिमी सीमा केन्द्रित लिम्बुवानी मार्चपास सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैशाख ७, २०६९ सुनसरी,नेपालमा संघीयता र लिम्बुवान लगायतका राज्यहरू हुने कि नहुने भन्ने बहस र षडयन्त्रहरू चलिरहेको बेला मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान राज्य हुनैपर्ने दाबी गर्दै नयाँ संविधानमा लिम्बुवान हुन नदिनु नेपालको राजनीतिक इतिहासमै महाभूल हुने जनाएको छ । सो कुरा लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले वैशाख ७ गते लिम्बुवानको पश्चिमी सीमा चतरा, सुनसरीदेखि अरुण नदीको किनारै किनार सङ्खुवा खोलाहुँदै खाँदवारीसम्मको ५ दिने लिम्बुवान मार्चपासको सुभाराम्भ गर्दै बताउनु भएको हो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभा र धनकुटा जिल्ला कार्य समितिहरूले संयुक्त रुपमा आयोजना र व्यवस्थापन गरेको यो लामो र चुनौतीपूर्ण लिम्बुवानको पश्चिमसीमा केन्द्रित् मार्चपासमा सुनसरी, धनकुटा र सङ्खुवासभाका सयौं नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन् । यसमा धनकुटाका आठपहरिया र सङ्खुवासभाका याक्खा जातिहरूको समेत विशेष सहभागीता रहेको छ । यसको नेतृत्व लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले गरेका छन् । बैशाख ७ गते धरानमा खुल्ला प्रेसभेट गरी दिनको १२ बजे चतरामा पुगेर मार्चपास सुरु गरेको यो मार्चपासको पहिलो दिन साँझको ५ बजे अरुण नदी र तमर नदीको सङ्गमस्थलमा पुगेको थियो । रातको अबेर १० बजे सुनबालुवा भन्ने ठाउँमा पुगेर यस रातको बास बस्न पुगेको थियो । दुईसय चालीस वर्षअघि लिम्बुवान रक्षाको लागि काङ्सोरे र उनका साथीहरूले अरुण नदीको किनारभरि छोडिराखेको लिम्बुवानी पदचापहरूसँग आध्यात्मिक रुपमा साक्षात्कार हुने भनिएको छ । यी सबै प्रयासहरूले संसारभर रहेका लिम्बुवानवासीहरूलाई आत्मिक र बैचारिक रुपमा व्यूँझाउने प्रेरणा मिल्नेछ । साथै, अब हुने निर्णायक लिम्बुवान आन्दोलनको लागि त्याग र वलिदानी भावनाको विकास गराउनेछ । र, लिम्बुवानको पश्चिमी सीमाबारे पूर्ण ज्ञान हुनेछ । यसैगरी, २०६९ वैशाख ६ गते लिम्बुवानको केन्द्रीय कार्यालय दमक, झापामा बसेको लिम्बुवानको सचिवालयको आकस्मिक बैठकले काठमाडौंमा विभिन्न दलका नेताहरूले गरिरहेको लिम्बुवानबेगरको कथित् संघीय संविधान जारी गर्ने षडयन्त्रहरू विरुद्ध घोर आपत्ति र भर्त्सना गरेको छ । यसैगरी, २०६४ साल फागुन १८ गतेको पाँचबुँदे सहमति अनुसार ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवा-सप्तकोशीपूव ९ जिल्ला लिम्बुवान राज्य स्वायत्त राज्य घोषणा गर्न माग गरेको छ । यसका लागि वैशाख ८ गते बेलुकी अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवानभर राँकेजुलुश सम्पन्न गर्ने आन्दोलनको कार्यक्रमसमेत तय गरिएको छ । वैशाख १६ गते मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सदस्य रहेको संगठनले विशाल संघीय गणतान्त्रिक आमसभा दमक लिम्बुवानमा सम्पन्न हुने कार्यक्रम तय भएको छ । यसरी नै, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानभरिका विभिन्न जातीय र राजनीतिक सङ्गठनहरूसँग लिम्बुवान स्थापनाको निर्णायक आन्दोलनको लागि संवाद सुरुगर्ने भएको छ । परिषदले अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य तत्काल स्थापना गर्न माग गर्दै लिम्बुवानको न्यायपूर्ण मागलाई बेवास्ता गरिए अनिश्चितकालीन लिम्बुवान आमहड्तालसहितको सशक्त वारपारको आन्दोलन तत्काल सुरु गरिने निर्णयसमेत गरिएको छ । बैशाख २३ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका समितिको आयोजनामा काठमाडौंको रिङरोडवरिपरि हुने लिम्बुवानी रोडमार्चपास सम्पन्न गर्ने कार्यक्रम तयार भएको छ । लिम्बुवानले २०६९ बैशाख ७ र ८ गते अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवानभित्रका एमाले, कांग्रेस र एमाओवादीसँग अन्तरसंवाद गरी उनीहरूमार्फत् ती पार्टीका केन्द्रीय नेतृत्वलाई ज्ञापन-पत्र दिने कार्यक्रमसमेत रहेको छ । ज्ञापन-पत्रमा ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्व नौ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् भनी जिउँदो इतिहास बोकेको लिम्बुवान भूमिलाई संविधानमा वाइपास गरी कुल्चेर अघि बढ्ने दुस्साहस नगर्न आग्रह गरिएको छ । यदि यो दुस्साहस गरिएमा त्यो नेपालको राजनीतिक इतिहासमै महाभूल हुने जनाइएको छ । - डीबी आङ्बुङ

No comments: