News

Apr 17, 2012

लामो समयदेखि पाँच सहसचिव बरन्डामा बस्न बाध्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ५ - सरकारले सिँचाइ मन्त्रालयका सहसचिव खोमराज दाहाललाई सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागका महानिर्देशक अनिल पोखरेललाई विज्ञान मन्त्रालयमा सरुवा गरिएपछि रिक्त पदमा मन्त्रालयको नीति महाशाखा प्रमुख दाहाललाई सारिएको हो । दाहाल पोखरेलपछि विभागमा सिँचाइतर्फका सबभन्दा वरिष्ठ सहसचिव हुन् । विज्ञान मन्त्रालयबाट सरुवा गरी ल्याइएका सहसचिव ईश्वरसिंह थापालाई मन्त्रालयको नीति महाशाखामा सरुवा गरिएको छ । युनियनको शैलीमा कर्मचारीहरूको दलबलका साथ पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्यसचिव माधव घिमिरेलाई भेटी सिँचाइमन्त्री यादवसित आफूहरूले काम गर्न नसक्ने भनी लबिङ गरेको र मन्त्रीको कार्यकक्षमा ताला नै लगाइदिने चेतावनी दिएकाले उनको सरुवा भएको जानकारी स्रोतले दिएको छ । आफ्नो मन्त्रालयका सचिव वृन्दा हाडालाई अमर्यादित शब्दमा गाली गरेको भन्दै पोखरल मन्त्री यादवका विरुद्धमा लबिङमा उत्रिएका थिए । झन्डै एक वर्षदेखि पदस्थापन हुन नसकेका कारण सिँचाइका पाँच प्राविधिक सहसचिव हाजिर मात्र गरेर दिन बिताउन बाध्य भएका छन् । मन्त्री यादव र सचिव हाडाबीच समन्वय हुन नसकेका कारण उनीहरूको पदस्थापनाबारे सिँचाइ मन्त्रालयले कुनै निर्णय नगरेको जानकारी स्रोतले दिए । पदस्थापना नभएका कारण सहसचिवहरू बिनाकाम मन्त्रालयको बरन्डामा समय बिताउन बाध्य छन् भने पदीय हैसियतले पाउनुपर्ने गाडी सुविधासमेत पाएका छैनन् । पदस्थापना नभएका कारण लामो समयदेखि दायित्वविहीन सहसचिवहरूमा महाजन यादव, मथुरा डंगोल, राजेन्द्र अधिकारी, प्रकाश पौडेल र दिलीप कार्की छन् । जबकि राष्ट्रिय गौरवका दुई ठूला सिँचाइ परियोजना सिक्टा र रानीजमरा, क्षेत्रीय सिँचाइ कार्यालय मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चल तथा सिँचाइ विभागमा दुई पद लामो समयदेखि रिक्त छन् ।

No comments: