News

Apr 13, 2012

फोटोसहितको मतदाता नामावली प्रकाशन अन्तिम तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २ - निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली प्रकाशन अन्तिम तयारी गरेको छ । आयोगले अहिलेसम्म देशभरिबाट १ करोड २ लाख ३१ हजारभन्दा बढीको फोटोसहितको नामावली संकलन गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले २२ हजारको नामावली दोहोरिएको पाइएको जानकारी दिए । 'नागरिकताका आधारमा खिचाइने फोटोसहितको नामावली देशभरि जहाँ बसेर खिचाए पनि दोहोरिने छैन,' जिल्ला निर्वाचन कार्यालय काठमाडौंले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले भने, 'यदि कसैको दोहोरिएको पाइएमा एक ठाउँमात्र रहने गरी अन्यत्रबाट रद्द गरिनेछ ।' सबैभन्दा बढी जनसंख्या रहेको काठमाडौं जिल्लाबाट ५ लाख ८८ हजार जनाको फोटोसहित नामावली संकलन गरिएको जानकारी निर्वाचन अधिकारी शम्भुप्रसाद चालिसेले दिए । आयोग तालिकाअनुसार वैशाख ३ गतेबाट देशभरिका सबै गाविस कार्यालय र नगरपालिकाको वडा कार्यालयमा नामावली प्रकाशन गरिनेछ । नामावली प्रकाशनपछि गल्ती भएमा सच्याउने, दाबी, विरोध हुनेछ । त्यसैगरी जेठ १५ सम्म नयाँ नागरिकता लिएका र यसअघि छुटेकाहरूका निम्ति फोटो तथा नामावली संकलन गरिने आयोगले जनाएको छ ।

No comments: