News

May 9, 2008

संविधान सभाको बैठक सञ्चालन गर्न सबै दलको सहमति खोज्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,

सात दलको बैठकमा संविधान सभाको बैठक सञ्चालन गर्न सबै दलको सहमति खोज्ने निर्णय भएको छ। संविधानसभा निर्वाचनपछि पहिलोपटक बैशाख २७ गते बालुवाटारमा बसेको सात दलको बैठकले संविधान सभामा निर्वाचित सबै दलहरूको सहमतिमा संविधान सभाको बैठक संचालन गर्ने निर्णय गरेको छ। सो को लागि १० सदस्सीय कार्यदल गठन गरिएको छ। कार्यदलमा एमालेबाट झलनाथ खनाल र भीम रावल, माओवादीबाट बाबुराम भट्टराई र कृष्ण बहादुर महरा, नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र विमलेन्द्र निधि, जनमोर्चाबाट घनश्याम पौडेल र लिलामणि पोखरेल, नेमकिपाबाट प्रेम सुवाल र बाममोर्चाबाट सि.पी. मैनाली रहेका छन्। बैठकबारे जानकारी दिंदै एमाले स्थायी समिति सदस्य झलनाथ खनालले संविधानसभाको पहिलो बैठक जेठ १२ देखि १५ गते भित्र बस्ने र बैठक प्रधानमन्त्रीले बोलाउने सहमति भएको बताए। संविधानसभा सदस्यमा मनोनित हुने २६ जना सदस्यहरूको मनोनयन अन्य दलहरूसँग सहमति गरी यसै सरकारले गर्ने निर्णय गरिएको नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले बताए। संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सात दलले सम्पूर्ण नेपालीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।बैठकमा गठबन्धन मध्ये सदभावना पार्टी उपस्थित थिएन।

No comments: