News

May 6, 2008

धरानमा पानी हाहाकार

लिम्वूवान डट व्लगस्पोट डटकम, धरान,
वैशाख २३ - बढ्दो सुक्खायामसंगै धरानमा खानेपानी हाहाकार भएको छ । माग बढ्दो भए पनि दीर्घाकालीन र स्थायी खानेपानी स्रोतको अभावमा हिउदमा हाहाकार हुने गरेको छ । निजी धारामा पानी आउन छाडेपछि खाना पकाउन, नुहाउन, कपडा धुन हम्मे हम्मे परेको उपभोक्ताले बताए । धरानका ७, ८, १३, १४, १५, १७, १९ वडामा पानी समस्या ज्यादा छ । विहानदेखि र्सार्वजनिक धारामा पानी थाप्न लाइन लागेपछि पर्याप्त मात्रामा पुग्दैन । कतिपय उपभोक्ताले जमिनमुनी पाइप फुटेर चुहावट भएको पानी उपयोग गरिरहेका छन् । केही उपभोक्ताले ट्याङ्करमा किनेर पनि चलाउने गरेका छन् । तर उपभोक्ता खानेपानी संस्थानलाई प्रति महिना न्यूनतम महसुल तिर्न बाध्य छन् । माघदेखि जेठसम्म धरानमा खानेपानी समस्या ज्यादा हुन्छ । पछिल्लो ६ महिनायता खानेपानी मुहान आपगाछीमा रहेको खोल्सी र सानो डुवुल्कीमा बालबालिकाको क्रिडा स्थल बनेको छ । लुगा धुने, वनभोज खाने, दिसा पिसाव गर्ने स्थान भएको छ । वाषिर्क रूपमा धरानमा ५ सय घर थपिने भए पनि खानेपानी आपूर्तिमा भने कमी हुदै आएको छ । सदुर खदुरलाधारमा रहेको मुहानलाई संरक्षण र व्यवस्थित गर्न नसकेपछि सुक्न थालेकाले पानी अभाव टड्कारो देखिएको उपभोक्ताले बताए । संस्थानका प्रमुख प्रजेन्द्र दास हाडाका अनुसार धरानमा दैनिक १ करोड ४० लाख लिटर पानी माग छ । बर्षायाममा समेत संस्थानले १ करोड २० लाख लिटर पानी मात्र उपलब्ध गराउन सकेको छ । झन सुक्खायाममा दैनिक ८० लाख लिटर मात्र मुस्किलले उपलब्ध गराउन सकेको छ ।

No comments: