News

May 12, 2008

शंकामा आठ बर्षदेखि जेल सजाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
'गोर्खाल्याण्ड' आन्दोलनको पुनजागरणसंगै दार्जिलिङक्षत्रीमा दुइ दशकसम्म एकछत्र शासनको बागडोर सम्हालेका सुवास घिसिङ पदच्युत भए पनि आठ बर्षदेखि जेलमा बन्दी जीवन भोग्दै आएका छत्र सुब्बासहित छ नेपालीभाषी अझै मुक्त हुन सकेका छैनन् । घिसिङ पदविहीन भएपछि निर्दोष उनीहरुलाई पनि स्वत रिहा गर्नुपर्ने चौतर्फी माग छ । खरसाङ नजिकैको सातघुम्तीमा गाडीमा सवार घिसिङमाथि भएको आक्रमण काण्डमा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धानक्रममा उनीहरुलाई जलपाइगुडीस्थित जेलमा राखिंदै आएको छ । फ्याल्टर टोपीमा बञ्चरोको प्रतीक, नमिलेका लामा लामा दाह्री जुंगा र आक्रामक आंखा भएको अग्लो शरीरका धनी सुब्बालाई दार्जिलिङक्षेत्रका नेपालीभाषीले जेलमुक्त भइ गोर्खाल्याण्ड आन्दोलनमा पुन होमिएको हेर्न चाहेका छन् । कुनै समय घिसिङपछिका चर्चित नेता सुब्बा अहिले जलपाइगुढीस्थित जेलमा ६३ बर्षको बुढ्यौली जीवन बिताउदैछन् । सन् १९८६ देखि २८ महिनासम्म चलेको गोर्खाल्याण्ड आन्दोलनलाई घिसिङसंगै नेतृत्व गरेका सुब्बा तिनै घिसिङमाथि आक्रमण गरेको र हतियारवन्द तालिम चलाएको प्रमाणहीन आरोपमा जेलको सजाय भोगिरहेका हुन् । दार्जिलिङ गोर्खा पार्वत्य परिषदको कार्यकारी प्रशासकबाट मार्च १० मा घिसिङ पदच्युत भएदेखि नै सुब्बाको रिहाइ माग हुनथालेको हो । संगसंगै बन्दी जीवन बिताइरहेका विजय क्षत्री, गुञ्जे लामा, श्याम कार्की, शरण देवान र विजय क्षत्रीको पनि शीघ्र रिहाइ माग गरिएको छ । सुरुमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी क्रामाकपाले सुब्बा निर्दोष रहेको दावी गर्दै अदालतले तत्काल उनलाई मुक्त गर्नुपर्ने आवाज उठाएको थियो । गोजमुमोले पनि 'घिसिङको व्यक्तिगत दुष्मनीकै कारण बिना आधार उनलाई जेलमा सडाइएको' भन्दै अविलम्ब रिहा गरिनुपर्ने माग गरेको थियो ।क्रामाकपा भातृ संगठनका कार्यकर्ताहरु 'बन्दीलाई कि सजाय देउ कि मुक्ति देउ' भन्ने नारासाथ उनीहरुको मुक्तिका लागि जलपाइगुडीमा विरोध प्रदर्शन गर्दै अनशनसमेत बसिसकेका छन् । अहिले सबैजसो पार्टी, संघ संस्था, नागरिक समाज, पेशाकर्मी, अधिकारकर्मीसमेतले सुब्बाको कुनै कसूर नभएको भन्दै रिहाइ पक्षमा जोडदार आवाज उठाइरहेका छन् । लामो समय बितिसक्दा पनि अभिभावकहरु जेल मुक्त नभएपछि उनीहरुका परिवारजनले मुक्तिका लागि सरोकारवाला निकायलाई गुहार मागिरहेका छन् ।

No comments: