News

May 21, 2008

रामहरि श्रेष्ठको हत्याको प्रमाण लुकाउने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
माओवादी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका जवाफदेहिता निगरानी समितिका सदस्यहरुले संचारकर्मीबीच रामहरि श्रेष्ठको हत्याको प्रमाण लुकाउन प्रयास भइरहेको बताएका छन् । रामहरि श्रेष्ठको हत्यामा संलग्नहरुलाई कारवाही गर्न अनुरोध गर्दै 'जवाफदेहिता निगरानी समिति' ले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र दिएको छ । जेठ ८ गते बिहान प्रचण्डलाई भेटेपछि राजधानीमा रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक मन्दिरा शर्माले श्रेष्ठको हत्यासम्बन्धि प्रमाण लुकाउन भइरहेको प्रयासप्रति सचेत हुनुपर्ने बताइन् । समितिका सदस्य चरण प्रसाईले कार्यक्रममा माओवादीले नै श्रेष्ठको हत्यामा संलग्न भएको स्विकारेका दुई छापामार बेपत्ता रहेको तथा उनीहरु पनि मारिनसक्ने आशंका गरे । समितिका अर्का सदस्य सुशिल प्याकुरेलले २४ घण्टा संयुक्त राष्ट्र संघीय मिशनको पहरा हुनुपर्ने छापामार शिविरमा हत्या हुनुले अनमिनको असफलता प्रमाणित भएको धारणा राखे । प्याकुरेलले श्रेष्ठको हत्यामा माओवादीसँगै सरकार पनि दोषी रहेको पनि उल्लेख गरे । हत्यापछि अनुसन्धानको काममा तत्परता नदेखाएकाले सरकार दोषी रहेको उनको धारणा थियो । माओवादी अध्यक्ष प्रचण्डलाई समितिले बुझाएको दुई पेज लामो ज्ञापनपत्रमा 'तपाईको नेतृत्वमा रहेको जनसेनाबाट रामहरि श्रेष्ठको हत्या नियोजित प्रकरण देखिएकोले तपाईले जनसेनाको सुप्रीम कमाण्डर भएको नातामा यस हत्याको जिम्मेवारी लिदै यसको जवाफदेही किटान गरि समस्त दोषीलाई कानुनी दायरामा ल्याएर जनतालाई आश्वस्त पार्नु आवश्यक छ ।'

No comments: