News

May 5, 2008

एमालेका विजयी उम्मेद्वारद्वारा राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,इटहरी
सुनसरी क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फसंविधानसभा निर्वाचनमा विजयी हुनुभएका एवम् एमाले जिल्ला सचिवसमेत रहनुभएका संविधानसभा सभासद् धर्मराज निरौलाले राजीनामा दिनुभएको छ ।समानुपातिकतर्फो सभासद्मा सुनसरीबाट कसैलाई पनि पार्टी समावेश नगरेको भन्दै निरौलाले आइतबार सभासद् र पार्टी सचिव पदबाट राजीनामा दिनुभएको हो ।
पार्टी कार्यवाहक महासचिव अमृतकुमार बोहरा समक्ष पार्टी सुनसरीको जनमतको कदर नगरेको र आशामा राखिएका व्यक्तिसमेतलाई सभासद् नबनाएको भन्दै निरौलाले राजीनामा दिनुभएको हो ।सभासद्मा राख्नुपर्ने र पार्टी समावेश नगरी नहुने व्यक्तिहरुलाई सभासद् नबनाइएका कारण राजीनामा दिनुको विकल्प नरहेको एमाले सुनसरीले जनाएको छ । समानुपातिकतर्फा उमेद्वारहरु द्वारिकलाल चौधरी, मटुकलाल सदा र बलराम झाँगडको नाम सभासद्मा सिफारिस गरिएको तर पार्टी मनोनयन नगरेका कारण निरौलाले राजीनामा दिएको पार्टी कार्यालय सुनसरीले जनाएको छ ।
यसैबीच सुनसरीका एमाले कार्यकर्ताले आइतबार पार्टी समानुपातिकतर्फो छनौटमा सुनसरीलाई हेला गरेको भन्दै जिल्ला पार्टी कार्यालय इनरुवामा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।
सुनसरीबाट समानुपातिकमा कसैलाई पनि पार्टी मनोनयन नगरेका कारण कार्यकर्ताहरु रुष्ट भएका थिए । एमाले बैठकले पार्टी बलियो भएका ठाउँमा सभासद् नछानिनुको कारण माग गर्दै नसच्याएसम्मका लागि पार्टी कार्यालय नखुल्ने भन्दै तालाबन्दी गरिएको एमालेले जनाएको छ ।
यसअघि सुनसरीका कार्यवाहक सचिवका रुपमा रहनुभएका रेवतीरमण भण्डारीले समानुपातिकमा पार्टी सुनसरीका एकजना पनि उम्मेद्वारलाई मनोनयन नगराएको भन्दै विरोध गर्नुभएको थियो । विज्ञप्ति जारी गरी उहाँले पार्टी सो निर्णय फिर्ता गरी पुनर्विचारका लागि आग्रह गर्नुभएको छ ।

No comments: