News

May 6, 2008

समानुपातिक छनौट प्रक्रियामा एमाले कार्यकर्ता असन्तुष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
समानुपातिकबाट संविधानसभासद छनौट प्रक्रियामा पार्टीले गलत निर्णय गरेको भन्दै एमाले कार्यकर्ता पार्टी नेतृत्वबिरुद्ध सार्वजनिकरुपमै उत्रेका छन् । संविधानसभा चुनावबाट मुलुकको तेश्रो ठूलो दल बनेको एमालेमा समानुपातिकतर्फको मनोनयनले ठूलो असन्तुष्टि जन्माएको छ । एमाले केन्द्रले समानुपातिकतर्फ आफ्नो जिल्लाबाट कसैलाई मनोनित नगरेको विरोधमा सुनसरी २ बाट संविधानसभा चुनावको प्रत्यक्षबाट निर्वाचित धर्मराज निरौलाले पार्टी नेतृत्वसमक्ष संविधानसभासदबाट राजीनामा दिएका छन् भने अन्य जिल्लामा एमाले कार्यकर्ताहरु नेतृत्वबिरुद्ध खुलेआम उत्रेका छन् ।
नेतृत्वको निर्णयबिरुद्ध गुल्मीमा एमाले कार्यकर्ताहरुले पार्टी कार्यलयमा ताला लगाएका छन् भने काभ्रेमा पनि कार्यकर्ताले बनेपामा रहेको जिल्ला कार्यलय बन्द गरिदिएका छन् । एमाले काभ्रेका जिल्ला सचिव गोकुल बास्कोटाले नेतृत्वले बिवेक गुमाएकाले तथा अवशरवाद र नातावादमा फसेकाले कार्यकर्ता बिद्रोहमा उत्रिएको बताए । बास्कोटाका अनुसार संविधानसभा चुनावमा जिल्लामा पार्टीले पाएको मतमध्ये २५ प्रतिशत बाहेकको मत हिसाव गरेर जिल्लाकै कार्यकर्तालाई समानुपातिकमा मनोनयन गर्ने पहिलेको बचनबिपरित पार्टीले निर्णय गरेकाले कार्यकर्तामा असन्तुष्टि देखिएको उल्लेख गरे । कार्यकर्ताको असन्तुष्टि सार्वजनिक भइरहँदा एमाले केन्द्रीय कमिटीको बैठक केन्द्रीय कार्यलय बल्खुमा जारी छ । निर्वाचन आयोगले बैशाख २५ गतेसम्म आफ्नो सूची सच्याउने समय दिएको छ ।

No comments: