News

May 6, 2008

संविधानसभामा मनोनित हुने २६ जनामा अधिकांश कोइरालाकै हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभाका ६०१ अनुहारहरुमध्ये प्रत्यक्षतर्फका २४० र समानुपातिकतर्फ ३३५ जना सदस्यहरु बारे प्रष्ट भइसकेपछि आम जनतामा अब सरकारले मनोनित गर्ने २६ जना व्यक्तिहरुप्रति तीव्र उत्सुकता जागेको छ । संविधानसभाको पहिलो वैठकको नेतृत्व वर्तमान सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै गर्ने पक्कापक्की भएकाले संविधानसभामा मनोनित हुने २६ जनामा अधिकांश कोइरालाकै मानिसहरु पर्ने बताइएको छ। मनोनित गरिने व्यक्तिहरुको सूचीमा विना विभागीय मन्त्री तथा प्रधानमन्त्री पुत्री सुजाता कोइरालाले आफ्नो नाम हाल्न दबाव दिइरहेकी छन् । अन्तरिम संविधानले प्रत्यक्ष निर्वाचनतर्फ सहभागी भएर पराजित भएकाहरुलाई संविधानसभामा मनोनित गर्न नपाइने प्रावधान राखेको छ। तर प्रधानमन्त्री निवास बालुवाटारमा आजकाल दिनुहँ जसो हुने कैठकहरुमा २६ जनाको नामको विषयमा छलफल हुने गर्दछ। संविधानसभा निर्वाचनमा पराजय भोगेका सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौला र एमाले महासचिव माधवकुमार नेपाललाई पनि मनोनित गर्ने तयारी भइरहेको समाचार स्रोतले बताएको छ । तर, माधव नेपालले भने अस्वीकार गरिसकेको स्रोतले बतायो । अर्कोतिर, पूर्वप्रम सूर्यबहादुर थापा, महन्थ ठाकुर, पशुपतिसमशेर राणा, सुशील कोइराला, शेखर कोइरालाजस्ता प्रत्यक्ष निर्वाचनमा पराजितहरु पनि २६ जनाभित्र समेटिनसक्ने चर्चा छ । तर, माओवादी अध्यक्ष प्रचण्डले भने गृहमन्त्री कृष्णप्रसाद सिटौला र एमाले नेता वामदेव गौतमलाई समेट्न प्रमलाई आग्रह गरेको बुझिएको छ। सुनसरी–५ बाट मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबाट पराजित बनेकी विना विभागीय मन्त्री सुजाता कोइरालालाई मनोनित गर्ने विषयले राजनीतिक वृत्तमा तनाव थपिने देखिन्छ। सुजाताको विवादित छवि र पराजयपछिको मनोनयनले नेपाली कांग्रेसको छविमा दाग लाग्ने राजनीतिक विश्लेषकहरु बताउँछन्। उता, आगामी २६ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिको पुनर्गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।

No comments: