News

May 12, 2008

जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेलेको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
सृजनशील साहित्य समाज हङकङले आठौं कृति प्रकाशित गरेको छ । सृजनशील साहित्य समाज हङकङका संस्थापक सचिव नरेश सुनुवारको ‘जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले’ शीर्षकको कविता संग्रहलाई सृजनशील साहित्य समाजकै आयोजनामा हिजो साँझ जोर्डनस्थित कंगन रेष्टुरेन्टमा सम्पन्न भएको कार्यक्रममा विमोचन गरिएको थियो । कविता संग्रहलाई पुस्तकका साथै भीडीयोमा कवि सुनुवारद्वारा कविताहरु पाठ गरिएको भीसीडी पनि एकै साथ प्रकाशित गरिएको थियो । प्रमुख अतिथिद्वेय नेपाली महावाणिज्यदूत केशव प्रसाद भट्टराई तथा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बूका हातबाट क्रमशः पुस्तक तथा भीसीडीको एकै साथ विमोचन गरिएको उक्त कार्यक्रमलाई समाजका सदस्य देवेन्द्र खेरेसले सञ्चालन गरेका थिए । समाजका सल्लाहकार कवि शरण सुब्बाको अध्यक्षतामा बसेको उक्त कार्यक्रममा यनआरयनका एसिया प्यासिफिक संयोजक गणेश इजम, पर्वत मञ्चका अध्यक्ष सुमल कुमार गुरुङ, आदिवासी जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, संगीतकार दिनेस सुब्बा, उपन्यासकार देश सुब्बाहरु विशेष अतिथिहरु रहेका थिए ।कार्यक्रमको शुरुमै सृजनशील साहित्य समाजले समाजलाई विशेष योगदान तथा सहयोग पुर्‍याएवापत ‘मिसाल’ शीर्षक उपन्यासका उपन्यासकार राई सी.के. मिलनलाई सम्मान गर्दै कदरपत्र समाजका अध्यक्ष हाङयुग अज्ञातबाट प्रदान गर्‍यो । कदर पत्रलाई ग्रहण गर्दै राईले समाजकै आयोजनामा भइरहेको कविता संग्रहको विमोचन कार्यक्रममा यसरी सम्मानित हुन पाउँदा आफूले गर्व महसुस गरेको बताएपछि हाङयुग अज्ञातले स्वागत मन्तव्य दिएका थिए । मन्तव्यको क्रममा उनले ससासको नेपाल संयोजक तथा सृजनशील साहित्य पत्रिकाका अंग्रेजी सम्पादक कूलदीप सुनुवार इडिपस जसको केही महिनाअघि असामयिक निधन भएको र त्यसले कवि नरेश सुनुवारलाई भाइको देहवसानले अवर्णनीय दुःख र अपूरणीय क्षति दिएको चर्चा गर्दै यसै वर्षबाट कूलदीप ट्रस्ट खडा गरिने र जसबाट प्रत्यक वर्ष पच्चीस हजार रुपैयाँ साहित्यका लागि पुरस्कार दिने र कवि नरेश सुनुवारका भर्खरै विमोचित कविता संग्रहको विक्रि-वितरणबाट उठेको रकम पनि सोही ट्रस्टलाई जाने जानकारी दिएका थिए । कवि तथा समाजका सदस्य अशोक र्राईले आफूलाई उक्त जिन्दगी…..को शीर्षकको कविता संग्रहबाट सबैभन्दा मन पर्ने एउटा कविता पाठ गरेपछि उक्त कविता संग्रहका बारेमा समालोचकीय टिप्पणीसहित आआफ्ना मन्तव्य खोटाङ समाजका अध्यक्ष तथा कवि भोगेन्द्र राई तथा आदिवासी गीतकार समाज हङकङका अध्यक्ष तथा समालोचक प्रदीप कन्दङवाले राखेका थिए । दुबैका राय कविता संग्रह ससाना कमीकमजोरीबाहेक उत्कृष्ट भएको थियो ।कवयित्री हिमकला राईले कवितात्मक गीत गाएपछि अतिथिहरु भूपेन्द्र चेम्जोङ, गणेश इजम, रामकृष्ण बान्तवा, हेम लिम्बू तथा केशव प्रसाद भट्टराईबाट आआफ्ना मन्तव्यहरु राखिएका थिए । त्यसको लगत्तै कार्यक्रमका सभापति शरण सुब्बाले राखेका आफ्नो छोटो मन्तव्यपछि कार्यक्रमको औपचारिकता समाप्त भएको थियो र रातको अबेरसम्म रात्रि भोजको सञ्चालन भएको थियो ।

No comments: