News

May 30, 2008

ज्ञानेन्द्रले अझै दरवार छाडेका छैनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व राजा ज्ञानेन्द्रले हिजो राति दरवार छोडेको भन्ने हल्ला बाहिर आए पनि ज्ञानेन्द्रले अझै दरवार छाडेका छैनन्। गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सञ्चारकर्मीहरुसंग कुरा गर्दै पूर्व राजा अझै दरवारमै रहेको बताउनु भयो। सिटौलाले दरवारका सहसचिव राम केसी र प्रदीपकुमार अर्यालसंग जानकारी लिंदा उनीहरुले ज्ञानेन्द्र दरवारमै रहेको बताए। पूर्व राजा ज्ञानेन्द्रले सरकारको सल्लाह बमोजिम नै दरवार छोड्ने जानकारी दिएको बताए। दरवार निकट स्रोतका अनुसार ज्ञानेन्द्र तत्काल दरवार छोड्ने मनस्थितिमा रहे पनि पूर्व मुमा बडामहारानी रत्न (महेन्द्रकी पत्नी) का कारण तत्काल दरवार छोड्न ढिलाई भएको बताएको छ। रत्नले मृत्युपर्यान्त दरवारको महेन्द्र मञ्जिल नछोड्ने अडान लिएपछि ढिलाई भएको हो। अहिले दरवार र सरकारबीच महेन्द्र पत्नी रत्नको अडान र नयाँ वासस्थानका वारेमा वार्ता भै रहेको बताइन्छ।
त्यसै गरी, हिजो नारायणहिटीबाट दरवारकै कर्मचारीले शाही झण्डा हटाइएको छ भने सोही ठाउंमा नेपालको राष्ट्रिय झण्डा फहर्‍याएको छ। हिजो सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर देशमा निरङ्कुशता लाद्न खोज्ने, जनताका प्रधानमन्त्रीलाई वरखास्त गर्ने, जननेताहरुलाई नजरबन्दमा राख्ने, नेपाली जनतालाई गुमराहमा राख्न खोज्ने, नेपाललाई विश्वबाट अलग्याउन सम्पूर्ण सञ्चार सम्पर्कहरु विच्छेद गरिदिने पूर्व राजा ज्ञानेन्द्र अहिले ज्ञानी देखिएका छन्। उनले सरकारको सल्लाह बमोजिम दरवार छोड्ने इच्छा प्रकट गरेका छन् भने दरवारमा कार्यरत कर्मचारीहरुलाई पनि त्यसै अनुरुप निर्देशन दिंदै आएको बुझिन्छ। गत बुधवार राति २ सय ४० वर्षको शाहवंशीय राजतन्त्रको विधिवत अन्त्यसंगै नेपालमा गणतन्त्र कार्यान्वयनको घोषणापछि पूर्व राजा ज्ञानेन्द्रले सरकारको सल्लाह बमोजिम भन्दै खुरुखुरु सबै आदेशहरु पालन गर्न वाध्य भएका छन्।
ज्ञानेन्द्रले कहिले दरवार छाड्लान् भन्ने यकिन नभएपनि आफू र पूर्व राजपरिवारले प्रयोग गर्दै आएका सामानहरु ट्रकका ट्रक ओसार्ने कामलाई तीव्रता दिएका छन्। ज्ञानेन्द्रबाट हुने हरेक राम्रा र नराम्रा कामहरु अक्सर शुक्रबार हुने र गरेका कारण सायद नारायणहिटीबाट पूर्व राजा ज्ञानेन्द्रको बहिर्गमन पनि शुक्रबार नै हुने होइन भनेर अड्कलबाजीहरु चलिरहेका छन्।

No comments: