News

May 12, 2008

माओवादी र फोरमबीच कोइरालालाई राष्ट्रपति नबनाउनेमा सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
पछिल्लो समय आगामी नयाँ सरकारको नेतृत्व माओवादीले गर्ने, राष्ट्रपतिका रुपमा वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्थान दिने लगायतका विषय चर्चामा रहिरहेका बेला माओवादी र मधेसी जनअधिकार फोरमबीच कोइरालालाई राष्ट्रपति नबनाउनेमा सहमति भएको छ । यतिमात्र होइन कोइरालाले प्रधानमन्त्रीबाट तत्काल हटेर नयाँ सरकार गठन गर्न बाटो खुलाइदिनुपर्ने विषयमा पनि यी दुइ पार्टीबीच सहमति बनेको बताइएको छ ।माओवादी अध्यक्ष प्रचण्ड र फोरम संयोजक उपेन्द्र यादवबीच राजधानीमा आइतबार भएको भेटवार्तामा यस्तो सहमति बनेको दाबी गरिएको छ । भेटमा सहभागी फोरम संयोजक यादवले सञ्चारकर्मीलाई बताएअनुसार कोइरालालाई राष्ट्रपति नबनाउने विषयमा दुवै पार्टीको समान धारणा बनेको छ । यसैगरी हालको सात दलीय गठबन्धन अन्त्य हुनुपर्नेमा जोड दिंदै फोरमले प्रधानमन्त्री कोइरालाले राजीनामा दिनुपर्ने धारणा दह्रोसँग अघि सारेको छ । यसमा माओवादीको पनि सहमति रहेको दाबी फोरमले गरेको छ ।यादवका अनुसार आफूले राखेका धारणामा माओवादी अध्यक्ष प्रचण्डको सहमति रहेको छ । यादवले कोइराला मानसिक, शारीरिक र राजनीतिक रुपमा समेत अनुपयुक्त भएको दाबी समेत गर्नुभएको छ । यसैगरी फोरमले संविधानसभामा मनोनीत गरिने २६ जना सभासद हालको मन्त्रिपरिषदले नभइ नयाँ बन्ने मन्त्रिपरिषदले मनोनीत गरिनुपर्ने अडान समेत राखेको छ । यसैगरी संघीयता, मधेस, नयाँ सरकार गठन जस्ता विषयमा माओवादी नेतृत्वको सकारात्मक धारणा रहेको यादवले सञ्चारकर्मीलाई बताउनुभएको छ ।

No comments: