News

Feb 4, 2010

उपचार अभावमा कलाकार याशेली योङहाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रदीप मेन्याङ्बो
धरान, माघ २१ - याशेली योङहाङका लागि आजकल कलाकारिता अभिसाप जस्तै भएको छ । लामो समयदेखि मृगौला रोगबाट पिडीत कलाकार योङहाङ तै पनि कला र संगित साहित्य भनेपछि हुरुक्कै हुन्छन् । फेरी उनी पूर्वी पहाड आइ पुग्छन्- तेह्रथुमको मेन्छ्यायेम एफएमको बाषिर्क उत्सवमा ।उनको दायाँ मृगौला काम नलाग्ने भइसकेको एक वर्ष भन्दा बढी भएको छ । वायाँ मृगौला पनि सुन्निएर मुस्कीलले काम गरिरहेको छ । विग्रेको मृगौलालाई शल्यक्रिया गरेर फाल्नु पर्ने र आधा विग्रीएको अर्कोलाई उपचार गर्न आगामी साता उनको दुवै मृगौलाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले समय दिएका छन् । तर, आर्थिक अभावमा संघर्ष गरिरहेका ३६ बर्षीय कलाकार योङहाङ भने आफ्नो चिन्ता भन्दा पनि भाषा संस्कृतिको चिन्ता गर्दै धरान आइपुगे । उनले भने, 'बैंसमा बढी आदर्शवादी भइयो र न विदेश गइयो । नत लाहुर नै भर्ती भइयो । शरीरमा रोग पालिए पछि उपचार गर्न पैसा पनि चाहिने रहेछ भन्ने लाग्यो । बेला वितिरहेको छ । हात पसार्न मनले मानेन । बाँचुञ्याल भाषा र संस्कृतिका लागि गरौंला, मरे पछि लण्ठै खत्तम ।' यति भनेर उनी मज्जाले हंासे । लिम्बु भाषाका गीत गाउने र रचना गर्नेमा उनी पहिला पंक्तिमा दरिन्छन् । हालसम्म उनका मात्र सृजना गरेका ५ सय लिम्बु भाषाका गीत मध्ये १ सय २८ वटा रेकर्ड भइसकेका छन् । लिम्बु भाषाका पाँच वटा एकल एलबम निकालिसकेका छन् । मासेमी, सेप्माङ, बलिहाङ तङनाम मुन्धुम, थोक्ला, लगायत एलबमहरु पुर्वका श्रोताले मनपराएका छन् । नविन सुव्वाको नुमाफुङ, मौसम इम्वुङको चेसुङलगायत करिब २ दर्जन नेपाली र लिम्बु भाषाका चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियोहरुमा अभिनय गरेका योङहाङको दुवै मृगौला शल्यक्रिया गर्न करिव ३ लाख ५० हजार रुपैया लाग्नेछ । तर पनि उनी ढुक्क र निश्चिन्त भएर हिडिरहेका छन् । धरानको घण्टाघरमा भेटेको बेला उनले भने, 'उपचार गर्ने खर्च भए किन यसरी हिड्थें । उहिलै शल्यक्रिया गरिसक्थें । तर, नभए पछि जति पीर गरे पनि अभाव नै हुँदो रैछ ।'भिडियो फिल्मः कोप्चेडाडा, शहीदकी आमा, आनि साक्थिम, टेलिफिल्म दलन, लिम्बु नेपाली भाषाका नाटकहरु अम्लारी फुङ, भूपू लाहुरे, कुलत, लाहुरेनीको कथाव्यथा, मिक्कीफुङरेन्, माराम आदिमा अभिनय क्षमता देखाइ सकेका योङहाङको छ बर्ष अघि दायाँ मृगौलाको शल्यक्रिया भएको थियो । मृगौलामा पत्थरि हुँदा पाटन अस्पतालका चिकित्सक डा. विजयकुमार जैसवालले शल्यक्रिया गर्दा असफल भएपछि पत्थर सवै ननिकाली त्यतिकै सिलाइदिए पछि समस्या झन बल्झेको हो । उनले भने, 'मृगौलाको असफल शल्यक्रिया पछि भैसेपाटीमा रहेको उस्को निजी क्लिनिक सुभेक्तामा उपचारका लागिसाथी इस्टमित्रहरुले सहयोग गरेको पैसाको भरमा धेरै पटक धाएँ, तर टेस्टमात्र गर्‍यो ।'शल्यक्रियामा विग्रेको मृगौला लिएर फेरि काठमाण्डौको कमलपोखरीस्थित हिमाल अस्पतालमा पिसिएनएल प्रविधिवाट डा. अशोक राणाले सोही मृगौला शल्यक्रिया गरे । तर, फेरी असफल भयो । त्यसपछि भने मृर्गौला सुकेर सानो भयो । अनि अर्को मृगौला सुनिन थाले पछि शरीरमा समस्या भएको उनले बताए । एनोट्रफि प्रविधिबाट उनको आधा विग्रीएको वायाँ मृगौला उपचार गर्नुपर्ने भएको छ । पाचथरको नागी-९ चित्तोकमा जन्मेका योङहाङले आफ्नो उपचारका लागि पहाडमा थोरै भएको जमिन पनि विक्रि गर्ने प्रयास नगरेका होइनन् । तर, किन्नेसमेत निस्केनन् । उनले भने, 'कलाकारिता गरेको पैसा काठमाण्डौंमा परिवार पाल्न त सकेकै थिएँ । तर आफ्नै उपचार गर्न चाही नसक्ने अवस्थामा पुगें । साथीहरुलाई पनि कति गुहार्नु । यस अघि दुई पटक शल्यक्रिया गर्दा पाच लाख रुपैया भन्दा बढी खर्च भएको छ ।' शरिरमा मृगौला रोग पालेर पनि उनी भने रामवावु गुरुङको निर्देशनमा निर्माणाधिन रहेको 'व्लक लिभ' र नवीन सुव्वाको 'गुडवाइ काठमाण्डौं' सुरज सुव्बाको 'द लिज' मा अभिनय गर्ने तयारीमा जुटेका छन् । लिम्बु गीत पनि रचना गर्न छाडेका छैनन् । पालाम, हाक्पारे, ख्यालीसंगै च्याब्रुङको तालमा गाउन र नाच्न पनि छाडेका छैनन् । हस्यकलाकारसमेत रहेका याशेली भन्छन्, 'वास्तबमा म दर्शक र श्रोताको मायाले मात्र बाँचेको हुँ नत्र पिरैले मरिसक्थें होला ।' उनी सम्बद्ध रहेको किरात याक्थुङ चुम्लुङले समेत उनको उपचारमा सहयोग गरेको छैन । आफ्नो मुलुकको लागि, आफ्नो जाति र भाषा-संस्कृतिको लागि अढाइ दशकदेखि लागि परेका कलाकार योङहाङको मृगौला उपचार गर्न राज्यले सहयोग नगरे पनि आफ्नै जातिका संघ संस्थाले सहयोग गर्नु मानवीय कर्तव्य हुन्थ्यो कि ?

No comments: