News

Feb 12, 2010

डाक्टरको भन्दा धामी झाँक्रीकै भरपर्ने चलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मध्यपुर, थिमी,अज्ञात रोगका कारण दुई महिनाभित्र १५ जना गाउँलेको ज्यान गइसकेको भक्तपुर चाँगुनारायण-४ र ५ का तामाङबीचका बासिन्दाबीच बुधबारबाट स्वास्थ्यकर्मीको टोली औषधि उपचार गर्न गए पनि डाक्टरको भन्दा धामी झाँक्रीकै भरपर्ने चलनलाई स्थानीय बासीले छोडेका छैनन्। मृत्यु भएकाको रगत परीक्षण नगरी र बिरामीको स्वास्थ्य परीक्षण रिपोर्ट नआउँदै महामारी हैन। चिसो र फोहोरका साथै जाँड-रक्सीका कारण धेरै मानिसको मृत्यु भएको जानकारी भ्रमणमा गएका स्वास्थ्यकर्मीले दिए पनि स्थानीय बासिन्दा भने उक्त कुराको प्रतिवाद गर्दै मादकपदार्थ नखानेहरूको मृत्यु भएको बरु खाने चाहिँ स्वस्थ नै देखिएको भन्दै डाक्टरभन्दा धामी झाँक्री लगाउनेतर्फलागेका छन्।स्थानीय नवक तामाङ भन्छन्- ‘यो मुर्कुटाले दुःख दिएर फैलिएको माहामारी हो। त्यसैले डाक्टरको काम छैन।’ उनका अनुसार र्याल काढ्ने, टाउको दुख्ने अनि पेट दुख्ने भन्नेबित्तिकै मृत्यु हुने रोग मंगलटार छाप लेहोटोल जारीगाउँमा दुई महिना अगाडि देखापरेको हो। रोगबाट १५ जनाको ज्यान गए पनि स्थानीय झाँक्री राजीलाल तामाङले झन्डै ५० जनाभन्दा बढीलाई झारफुक गरेर निको पारेका छन्।चाँगु ४ का खलबहादुर तामाङ रोग लाग्नेबित्तिकै धामीले भेटे भने बिरामी ठीक हुने गरेको र आफ्नोसमेत रोग निको भएको दाबी गर्छन्। उनका अनुसार राजीलाललगायत अन्य दुई धामीमा गाउँलेहरूले भरोसा गरिरहेका छन्।गत मंसिरको सुख्खामा बदाम बेच्न गएका एक तर्राईमूलका व्यापारीले मलाई मुर्कुटाले खेद्यो भन्दै भागेपछि मृत्यु भएको र अधिकांशलाई त्यहीँ कालो मुर्कुटाले खाएको विश्वास गर्दै धामी-झाँक्री लगाउन थालेका गाउँलेले डाक्टरको विश्वास गरेका छैनन्। गाउँलेलाई झारफुक गर्दै आएका राजीलाल गर्वसाथ भन्छन्- मैले थाहा पाएर जस-जसलाई चिन्ता गरेर उनीहरू बचेका छन्, नगरेका मरे। उनका अनुसार टाउकोबिनाको भूत कालो मर्कुटा अझै चाँगुका तामाङबासीमा घुमिरहेकाले भगाउन समय लाग्छ।

No comments: