News

Feb 26, 2010

सिराहाको धनगढी बजार तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिराहा, १४ फागुन,स्थानीय व्यवसायी र शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा शुक्रबार सिराहाको धनगढीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका कारण धनगढी बजार दिनभर तनावग्रस्त बन्यो । गाढा गाविस-१ का शम्भु गुप्ताको अपहरणमा संलग्न रहेको आशंकामा प्रहरीले धनगढी बजारका तीन व्यवसायी र एक शिक्षकलाई बिहीबार राति नियन्त्रणमा लिएको हो । गुप्ता सोमबार राति आफ्नै घरबाट अपहरणमा परेका थिए । निर्दोषलाई नियन्त्रणमा लिइएको भन्दै स्थानीय बासिन्दाले शुक्रबार बिहानैदेखि धनगढी बजारमा प्रदर्शन गरेका थिए । उनीहरूको रिहाइको माग गर्दै सयौँको संख्यामा आएका स्थानीयले पूर्व-पश्चिम राजमार्गको धनगढी सडकखण्ड टायर बालेर अवरुद्ध गरे । राजमार्ग खुलाउने क्रममा प्रहरी र स्थानीयबीच पटक-पटक झडप भएको हो । झडपका क्रममा करिब आधा दर्जन स्थानीय र पाँचजना प्रहरी जवान घाइते भएका छन् । प्रहरीको कुटाइबाट मोहनपुर कमलपुर गाविसका देवनारायण यादव, मोहमद इस्लाम खान, धनगढी बजारका होटल व्यवसायी सरस्वतीदेवी साहलगायत ६ जना घाइते भएका छन् । स्थानीयले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय लाहानका प्रहरी जवान उमेश यादवसहित पाँचजना घाइते भएका छन् । घाइते स्थानीय र प्रहरी जवानहरूको लाहान अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । झडपका क्रममा प्रहरीले स्थानीयवासीको घरभित्र प्रवेश गरेर कुटपिट तथा होटल तोडफोड गरेको घाइते सरस्वतीका पति शिवदयाल साहले बताए । उनले भने, 'झडपपछि प्रहरीको एक टोलीले होटलमै प्रवेश गरेर तोडफोड गरे ।' उनका अनुसार प्रहरीले सरस्वतीको शरीरमाथि तातो तेलको कराइ घोप्ट्याउँदा सरस्वती घाइते भएकी हुन् । गुप्ता अपहरणको आशंकामा प्रहरीले धनगढी बजारका व्यवसायी विजयकुमार महतो, महेन्द्र भगत, रामसुफल महतो र लाहान नगरपालिकाका शिक्षक गंगाराम यादवलाई पक्राउ गरेको थियो । उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको लाहानका प्रहरी निरीक्षक विपीन रेग्मीले बताए । उनले भने, 'नियन्त्रणमा लिएका चारैजनामाथि छानबिन हुँदै छ, दोषी नठहरिए छाड्छौँ ।'यसअघि गुप्तालाई अपहरणमुक्त गर्न प्रहरीले गरेका प्रयास असफल हुदै आएका छन् । प्रहरीले विशेष टोलीमार्फत अपहरित गुप्तालाई बिहीबार राति मुक्त गराउन बनाएको योजना पनि असफल भएको छ । सिराहाका प्रहरी नायव उपरीक्षक राजेन्द्र बस्नेतका अनुसार अपहरणकारीले आठ लाख फिरौती मागेका र फिरौती लिएर परिवारजनसँगै गए पनि अपहरणकारी उम्केका बताए । अपहरणकारीले गुप्ताको परिवारजनसँग आठ लाख फिरौती लिन लागेको थाहा पाएपछि पक्राउ गर्न अपहरितका छिमेकी विजय गुप्ताको सहयोगमा पक्राउ गर्ने योजना बनाएको उनले जानकारी दिए । 'परिवारजनसँगै फिरौती रकमसहित सिभिल ड्रेसमा सुरक्षाकर्मीको टोली अपहरणकारीले तोकेको स्थान धनगढी चौकस्थित नागवंशी पानपसलको छेउ पुग्यौँ,' प्रनाउ बस्नेतले भने, 'अपहरणकारीले फिरौती लिनुअघि हाम्रो टोलीले लगाएको नकाब खोल्न भने । नकाब खोल्नासाथ अपहरणकारीले सुरक्षाकर्मी भएको पत्तो पाएर गोली चलाए ।' सो क्रममा सुरक्षाकर्मीले पनि जवाफी फायरिङ गरेपछि अपहरणकारी भागेको उनले दाबी गरे । सुरक्षास्रोतले भने अपहरणकारीले गोली चलाएपछि भागेको प्रहरी टोलीले राजमार्गनजिकको बस्तीमा पुगेर हवाई फायर गरेको जनाएको छ । अपहरणकारी पक्राउ गर्न नसकेको प्रहरीले आशंका गर्दै अनाहकमा व्यवसायीलाई नियन्त्रणमा लिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । अपहरणकारी पक्रन नसकेर भागेका प्रहरीले व्यवसायी तथा शिक्षकलाई पक्रनु न्यायसंगत नभएको स्थानीयको भनाइ छ । स्थानीय कृष्णबहादुर यादव भन्छन्, 'अपहरणकारीहरू गोली चलाउँदै भाग्दासमेत केही गर्न नसक्ने प्रहरीप्रति नै शंका उब्जिएको छ । यसमा प्रहरीको मिलेमतो देखिन्छ ।'

No comments: