News

Feb 18, 2010

संयन्त्रमा सरकारको विषयमा पनि छलफल हने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ७,राजनीतिक गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्य तीन दल सत्ता साझेदारीको विषयमा पनि छलफल गर्न सहमत भएका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदारीको विषयले ‍औपचारिक प्रवेश पाएको यो पहिलो पटक हो। यसअघिको बैठकमा एकीकृत माओवादीले यस विषयमा पनि छलफल हुनुपर्ने प्रस्ताव राखेको थियो। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच यस्तो सहमति हुँदा संयन्त्रका आमन्त्रित सदस्य प्रधानमन्त्री माधवकुमार नेपाल भने उपस्थित थिएनन्। यसैगरी मुख्य तीन दल राजनीतिक गतिरोध समाधानका लागि पुनः साझा संकल्प प्रस्तावमै फर्किएका छन्। यसअघि पटक पटकका तीन दलीय बैठक संकल्प प्रस्तावको व्यहोराको भाषा नमिल्दा निश्कर्षविहीन बनेको थियो। काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा आज बिहान बसेको बैठकमा संकल्प प्रस्तावको व्यहोरा तयार पार्न तीन दलको कार्यदललाई जिम्मा दिइएको जानकारी एमाले अध्यक्ष खनालले दिए। 'सहमतिको पहिलो बूँदा दुई दिनमा साझा संकल्प प्रस्तावको टुंगो लगाउने भन्नेछ', उनले भने। काङ्ग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार कार्यदलले पर्सि अपराह्नको संयन्त्रको बैठकमा प्रस्तावको मस्यौदा पेश गर्नेछ। हरेक बिहीबार संयन्त्रको बैठक बस्ने भनिए पनि हिजो नेताहरु पार्टीका बैठकहरुमा व्यस्त भएकोले आज बैठक बसेको हो। बैठकमा माओवादी लडाकुको समायोजन, पुनर्स्थापनसम्बन्धमा पनि छलफल हुने बताइएको थियो। यसअघिको बैठकमा संयन्त्रका आमन्त्रित सदस्य प्रधानमन्त्री माधवकुमार नेपालले लडाकु समायोजन सम्बन्धमा छलफल गर्न राखेको प्रस्तावलाई एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिले राजनीतिक गतिरोधको अन्त्य हुनुपर्ने भन्दै इन्कार गरेका थिए। माओवादीले सेनापति थमौति मामिलामा राष्ट्रपतिले चालेको कदमले नागरिक सर्वोच्चता हनन् भएको भन्दै गरिरहेको चरणवद्ध आन्दोलन संयन्त्र गठन भएपछि खुकुलो पारेका थिए। यो मामिला नसल्टिएसम्म अरु विषयमा प्रवेश नगर्ने उसको अडान छ।

No comments: