News

Feb 17, 2010

टोयोटा अध्यक्ष अमेरिकी संसदमा जवाफ दिन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोकियो, फागुन ५,जापानको गाडी उत्पादक कम्पनी टोयोटाका अध्यक्ष अकियो टोयोटाले अव गुणस्तर नियन्त्रण टोलीबाट उत्पानको अनुगमन हुने बताएका छन्। टोलीले विश्वव्यापीरुपमा उत्पादनको निरिक्षण गर्ने छ।अमेरिकी संसदमा उनी जवाफ दिनसमेत तयार रहेको बताए। टोयोटाका गाडीमा देखिएको सुरक्षा समस्यामाथि अमेरिकी संसदमा समेत सुनुवाई हुँदैछ। 'हामी अहिले कम्पनीलाई सुधार्ने काममा छौं,' उनले भने, 'विभिन्न प्लान्टबाट त्यहाँका प्रमुखहरुलाई बोलाइसकेको छु ।' उनले अमेरिका कहिले जाने भन्ने खुलाएका छैनन्। टोयोटाका अमेरिकामा बनेका गाडीमा धेरै समस्या देखिएका छन्। 'हामी अमेरिका जाने तयारीमा छौ तर अहिल्यै ठेगान भइसकेको छैन,' उनले भने। यो उनको एक सातामा तेस्रो पत्रकार सम्मेलन हो।यसअघि कम्पनीले लगातार गाडी फिर्ता गर्नु परेकोमा माफी मागेको छ। आजै जापानबाट छापिने प्रमुख पत्रिकाहरुमा पूरै पेज विज्ञापन गरेर कम्पनीले माफी मागेका थिए। कम्पनीले उत्पादन गरेका गाडीको ब्रेक र एक्सिलेटरमा समस्या देखिएपछि धेरै गाडी फिर्ता लिएर मर्मत थालेको छ। गाडी उत्पादनमा विश्वकै अग्रणीमध्येको टोयोटाले एक वर्षमा ९० लाख भन्दा बढी कार फिर्ता गरिसकेको छ। कम्पनीका अध्यक्ष अकियो टोयोटाले आज गाडीको गुणस्तर सुधार्न भइरहेको गतिविधिबारे विश्वव्यापीरुपमा जानकारी दिँदैछन्। लगातार गाडीमा समस्या आएपछि अस्तित्व जोगाउन मेहनत गरिरहेको टोयोटाले अमेरिकी सरकारबाट हुने थप अनुसन्धानको परिणाम कुरिरहेको छ। टोयोटाले पछिल्ला चार महिनामा मात्र ८५ लाख गाडी फिर्ता लिइसकेको छ। विज्ञापनमा कम्पनीले टोयोटाका ग्राहकलाई गाडी फिर्ता ल्याउन आग्रह गरेको छ। जापानमा बनेको प्रिअस र उत्तर अमेरिकामा बनेको लेक्सस गाडी फिर्ता गर्न कम्पनीले आह्वान गरेको हो। प्रिअसको मर्मत गतसाताबाट सुरु भएको कम्पनीले जनाएको छ। कम्पनीले अमेरिकी पत्रिकामा पनि यस्तै आह्वानसहितको विज्ञापन प्रकाशित गरेको छ।

No comments: