News

Feb 15, 2010

त्रिभुवन विमानस्थलबाटै अवैध कामदार विदेशतिर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी निकायबीच समन्वय नहुँदा यसको फाइदा उठाउँदै श्रमस्वीकृति नलिई अवैध रूपमा कुवेत कामदार पठाउने समूहले हवाई मार्गको झन्झटिलो प्रक्रियाको विकल्पका रूपमा त्रिभुवन विमानस्थललाई रोजेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो तलामा राखिएको वैदेशिक रोजगार विभागअर्न्तर्गतको श्रम डेस्क कहाँ राख्ने विषयमा सरकारी निकायबीच मतभेद उत्पन्न हुँदा अवैध रूपमा विदेश जाने कामदार र सो काम गर्ने एजेन्टले अवैध काम गर्ने मौका पाएका हुन्।सरकारले रोजगारीका लागि कुवेत जान नेपाली कामदारलाई रोक लगाएको र सरकारी निकायबीच श्रम डेस्क राख्ने विषयमा विवाद भएको फाइदा उठाउँदै कामदार पठाउने एजेन्टका समूहले हाल नेपाली विमानस्थल प्रयोग गर्न थालेका हुन्।रोजगारी भिसामा विदेश जाने नेपाली कामदारको वैधता निरीक्षण गर्न विमानस्थलको पहिलो तलामा राखिएको श्रम डेस्क त्यहाँबाट हटाएपछि सरकारी स्वीकृतिविना विदेश पठाउने समूह सक्रिय भएका हुन्। श्रम डेस्कलाई अध्यागमन क्षेत्रसँगै रहेको विमानस्थलको पहिलो तलाबाट तल सारिँदा डेस्कको कार्यक्षमता कम भएपछि स्वीकृति नलिई विदेश जाने र पठाउने समूह सक्रिय भएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टर्राईले स्वीकार्नुभयो। श्रम डेस्क भुइँ तलाको एउटा कुनामा राख्ने निर्देशन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दिएपछि श्रमस्वीकृति नलिई विदेश जाने कामदारले प्रश्रय पाएको मन्त्रालयको दाबी छ। ‘श्रम डेस्कलाई कुनामा राखेपछि अवैध रूपमा जाने कामदारलाई निगरानीमा राख्न नसक्दा श्रमस्वीकृति नलिई जानेको संख्या बढेको हो’, वैदेशिक रोजगार विभागका एक अधिकृतले भने- ‘श्रम डेस्कलाई सरकारी निकायले नै असहयोग गरेका छन्।’विमानस्थलको श्रम डेस्कले कामदार भिसावाहक मानिसको श्रमस्वीकृति, कागजपत्र र अन्य प्रमाण हेर्ने गर्दछ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विभागले श्रमस्वीकृति स्टिकर टाँसिसकेपछि विमानस्थलमा पुनः परीक्ष्’ण गर्नु आवश्यक नरहेको जनाएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागका प्रमुख खडानन्द ढकालले कामदार भिसा लागेका वाहकले श्रमस्वीकृति लिए/नलिएको अध्यागमन कर्मचारीले पनि हेर्ने भएकाले श्रम डेस्क राख्नुको औचित्य नरहेको बताउनुभयो। उहाँले पर्यटन भिसामा काम गर्ने उद्देश्यले जाने भिसावाहकलाई समेत प्राप्त कागजातका आधारमा सोधपुछ गरिने बताउनुभयो। श्रमस्वीकृति नलिई जाने कामदारलाई स्वीकृति लिएर आउन तथा श्रमस्वीकृति लिएर डेस्कबाट छाप नलगाई आउने कामदारलाई समेत पुनः छाप लगाउन अनुरोध गरिने गरेको उहाँले बताउनुभयो। दुई सरकारी निकायबीच विवाद हुँदा श्रमस्वीकृति नलिई कुवेत र अन्य देश जाने नेपालीको संख्या बढेको रोजगार विभागका कर्मचारी बताउँछन्। आयोगले विमानस्थलको पहिलो तलामा श्रम डेस्क राख्न आवश्यक नरहेको जनाउँदै भुइँ तलामा राख्न निर्देशन दिएपछि केही समयअघि तल सारिएको थियो।

No comments: