News

Feb 17, 2010

प्रक्रिया नपुर्‍याई तीन सय महिला कामदार साउदी अरब पठाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ४- वैदेशिक रोजगार विभागले प्रक्रिया नपुर्‍याई तीन सय महिला कामदार साउदी अरब पठाएको भन्दै त्यहाँको नेपाली दूतावासले यो घटनामा संलग्न कर्मचालाई कारबाही गर्न परराष्ट्र र श्रम मन्त्रालयलाई पत्राचार गरेको छ। घरायसी काममा पठाइएका कामदारमध्ये भोजपुरकी रेणुका तामाङ घरमालिकको यातना सहन नसकेर भागेर आएपछि प्रक्रिया नपुर्‍याई स्वीकृति दिएको तथ्य खुलेको हो।
साउदीस्थित नेपाली राजदूत हमिद अन्सारीले 'विभागमा अन्तिम स्वीकृति दिँदा गम्भीर लापरवाही भएको भन्दै घटनासँग सम्बन्धित अधिकारीलाई कारबाही गर्न आग्रह गरेको स्रोतले बतायो। 'कामदार पठाउँदा विभागका कर्मचारीले मिलेमतोको आधारमा पठाएको पाइएको छ,' साउदीस्थित नेपाली दूताबासले पठाएको पत्रमा भनिएको छ, 'यसमा संलग्न सबै दोषीलाई कडा कारबाही गरियोस्।'वैदेशिक रोजगार ऐनअनुसार होटल, अस्पतालजस्ता संगठित क्षेत्रमा महिला कामदार पठाउँदा दूतावास, श्रम सहचारी वा चेम्बर अफ कमर्सबाट प्रमाणित गराउनुपर्ने प्रावधान छ। विभागले भने तीन सय महिला कामदार साउदी पठाउँदा यी निकायको राय मागेको थिएन।तामाङ साउदी अरबस्थित नेपाली दूतावासको आश्रयमा बस्दै आएकी छन्। दूतावास स्रोतका अनुसार उनको मानसिक अवस्था ठीक छैन। उनीहरूलाई अस्पतालमा सरसफाइको काम भन्दै विभागले अनुमति दिएको थियो। उहाँ पुगेपछि अस्पतालको सट्टा घरायसी काममा लगाएको तामाङबाट खुलेको छ।बसुन्धरामा रहेको जवट्रयाक रिक्युटि्रङ प्रालिले अस्पतालमा सरसफाइका लागि भनेर कामदारको माग ल्याएको थियो। दूतावासले तामाङका लागि हवाई खर्च, उपचारका लागि ३५ सय रियाल र क्षतिपूर्ति २५ सय रियाल उपलब्ध गराउन श्रमसँग आग्रह गरेको छ।

No comments: