News

Feb 17, 2010

प्रकाशमान सिंहलाई आफ्नै पार्टीका कार्यकर्ताले हातपात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ फागुन,कांग्रेस उपसभापति प्रकाशमान सिंहलाई आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकतापछि पनि जिल्लामा रहेको विवाद समाधान गर्न नसकेको भन्दै संखुवासभा र ओखलढुंगाका कार्यकर्ताले उपसभापतिलाई हातपात गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा भाग लिन बुधबार बिहान झन्डै सवा एघार बजे उपसभापति सिंह सानेपास्थित पार्टी कार्यालय पुगेका थिए । तर, एकताका नाममा अन्याय भएको भन्दै उपसभापति सिंहलाई संखुवासभा र ओखलढुंगाका कार्यकर्ताले हातपात गरेका हुन् । पार्टी एकतापछि जिल्लामा उत्पन्न विवाद समाधान समितिका संयोजकसमेत रहेका सिंहलाई प्रेमराज राई, मित्रसेन दाहालसहितको नेतृत्वमा केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका कार्यकर्ताले आक्रमण गरेका हुन् । पार्टी एकताको भावनाविपरीत विवाद समाधान समितिले संखुवासभा र ओखलढुंगाको जिल्ला सभापति परिवर्तन गरेको भन्दै धर्नामा बसेका असन्तुष्ट कार्यकर्ताले उनलाई आक्रमण गरेका हुन् । धर्नामा बसेका कार्यकर्ता र उपसभापति सिंहबीच भनाभन बढ्दै जाँदा सिंहमाथि कार्यकर्ताले आक्रमण गरेका हुन् । धर्नामा सहभागीले उपसभापति सिंहका विरुद्ध चर्को नाराबाजी गर्दै निर्णय फिर्ता नगरेसम्म कार्यालय प्रवेश गर्न नदिने अडान राखेका थिए । धर्नामा बसेका कांग्रेस कार्यकर्ताले सिंहमाथि आक्रमण गर्नुका साथै पार्टी कार्यालयका प्लास्टिकका कुर्सीसमेत भाँचिदिएका छन् । धर्नामा सहभागीले उपसभापति सिंहलाई भगौडा नेता भनेका थिए । 'हिजो (मंगलबार) पछिल्लो ढोकाबाट भित्र छिरेका नेता उतैबाट गए, यस्ता भगौडा नेता चाहिन्न,' कार्यकर्ताको भनाइ थियो । तर, आफूलाई भगौडा नेता भनेपछि उपसभापति सिंह उत्तेजित बनेका थिए । सिंहले आफू हिजो -मंगलबार) पनि अगाडिको बाटोबाट भित्र छिरेको भन्दै आज (बुधबार) पनि त्यही ढोकाबाट छिरेको दाबी गरेका थिए । उत्तेजित उपसभापति कार्यकर्तालाई धकेल्दै कार्यालय प्रवेश गरेका थिए । तर, उनी कार्यालयभित्र प्रवेश गरिसक्दा धर्नामा रहेकाले केही झापड हानेका थिए । उनले पनि केही झापड फर्काएका थिए । धर्नामा बसेका कांग्रेस कार्यकर्ताले उपसभापति सिंहले आफूहरूमाथि हातपात गरेको दाबी गरेका छन् । धर्नामा बसेका मनोज घिमिरे, टेकबहादुर कटवाल र रामकुमार थापा घाइते घाइते भएको दाबी छ । उनीहरू स्टार हस्पिटलमा उपचार गराएर फर्किएका छन् । उपसभापति सिंहले भने सकेसम्म सबैको भावना समेटेर नै निर्णय गर्ने प्रयास गरेको दाबी गरेका थिए । उनले विवाद समाधान समितिमा पनि सहमति जुट्न नसकेपछि कुनै न कुनै प्रक्रियाबाट निर्णयमा पुग्न समिति बाध्य भएकाले बहुमतको आधारमा निर्णय गरेको जिकिर गरेका थिए ।तर, असन्तुष्ट कार्यकर्ताले आफूहरूप्रति अन्यायपूर्ण निर्णय गरेको आरोप लगाएका थिए । उनले विवाद समाधान समिति र पदाधिकारीको संयुक्त बैठक रहेको भन्दै कार्यालय प्रवेश गर्न दिन आग्रह गरेका थिए । संखुवासभा र ओखलढुंगाका कार्यकर्ताले मंगलबार पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । उनीहरूले कार्यवाहक सभापति सुशील कोइरालासहितका केही केन्द्रीय सदस्यलाई मंगलबार साढे एक घन्टा केन्द्रीय कार्यालय प्रवेशमा रोक लगाएका थिए ।सिंहमाथि आक्रमण भएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । प्रहरीले स्थितिलाई सामान्य बनाएको थियो । दिनभरि नै केन्द्रीय कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

No comments: