News

Feb 24, 2010

जातीय युद्ध मच्चिने बिजुक्छेको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, फागुन १२- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला राजनीतिक दलले सङ्घीय राज्यको नाममा जातीय राज्य अगाडि सारेर मुलुकभर जातीय आतङ्क फैलाइरहेको बताएका छन्। उनले जातीय राज्य बनाइए मुलुकमा जातीय युद्ध मच्चिने चेतावनी पनि दिए। प्रभात सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित प्रभात उच्च माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव समारोहको आज उदघाटन गर्दै उनले सङ्घीयताका नाममा जातीय सङ्घीय राज्य अगाडि सारेपछि गाउँगाउँमा अल्पमतमा परेका जाति आतङ्कित भइरहेको बताए।जातीय राज्यको नारा अघि सारेपछि तराईबाट पहाडिया र अन्य क्षेत्रबाट अल्पमतमा परेका जाति विस्थापित हुनुपरेको बताउँदै उनले जातीय राज्य कार्यान्वयन भए मुलुकमा जातीय युद्ध मच्चिने पनि बताए।बिजुक्छेले तीन ठूला दलले स्पष्ट दृष्टिकोण राखेमा र कुनै बाधा व्यवधान खडा नभए जेठ १४ गतेभित्र संविधान निर्माण हुन सक्ने बताएका थिए।संविधान नबने तीन ठूला दलकै कारण नबन्ने बताउँदै उनले माओवादीले सत्ताका लागि लडेको तर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए।उनले तीन राजनीतिक दलको उच्चस्तरीय संयन्त्र चिया खाएर गफ गर्ने थलो भएको आरोप लगाउँदै संयन्त्रले जस्तोसुकै निर्णय गरे पनि त्यसले कानुनी मान्यता नपाउने बताए।संयन्त्रमा अन्य राजनीतिक दललाई समावेश गर्नुपर्ने कुनै अर्थ नरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेले संयन्त्रमा गर्ने छलफल र निर्णय संसदमै हुनुपर्ने बताए।योग्यताको आधारमा माओवादी लडाकूको समायोजन हुनुपर्ने बताउँदै उनले लडाकुलाई सिधै नेपाली सेनामा समायोजन गर्न नहुने बताए।

No comments: