News

Feb 28, 2010

हङकङका भारोत्तोलनमा कीर्तिमानी नरबहादुर राई

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/निर्मल श्रेष्ठ
फाल्गुन १७, ब्रिटिस गोर्खा सेनाका कारण बहादुर, सोझा र इमानदार छवि गाँसिएको हङकङेली नेपालीहरूमाझ नरबहादुर राईले खेलाडीका रूपमा अर्को परिचय थप्दैछन् । भारोत्तोलनतर्फ उनले गत वर्ष हङकङको राष्ट्रिय कीर्तिमान भंग गरेका छन् ।मास्टर वन हेभिवेट समूहका खेलाडी राईले २००९ मा आयोजित हङकङ पावरलिफि्टङ च्याम्पियनसिपमा डेडलिफ्टतर्फ १७५ र बेञ्चप्रेसतर्फ १ सय ३० किलोग्राम तौल उचालेर हङकङको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । यसअघि सोही समूहमा चिनियाँ खेलाडीको १७२.५ र १२२.५ किलोग्रामको रेकर्ड थियो । उनी २००८ राष्ट्रिय च्याम्पियनसिपका समेत स्वर्णपदक विजेता हुन् । उक्त प्रतिस्पर्धामा कीर्तिमान नबने पनि उनी आफू सहभागी स्क्वायट, बेञ्चप्रेस र डेडलिफ्ट तीनै विधामा पहिलो भएका थिए ।चौध मुलुक सहभागी एसियन बेञ्चप्रेस च्याम्पियनसिपमा उनले सन् २००८ मा मै आयोजित उनले हङकङलाई कांस्यपदक दिलाएका थिए । राईले २००२ को प्रतियोगितामा सुरुआत नै यहाँ आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट गरेको बताए । आफ्नो समूहमा सबैभन्दा बढी तौल उचाले पनि खेल नियम राम्रो नजान्दा उक्त प्रतिस्पर्धामा कांस्यपदकमै सीमित हुनुपरेको तीतो अनुभव पनि उनीसँग छ । यसअघि नेपालमा भएको प्रतियोगितामा समेत उनी सहभागी रहेका थिए । 'धरानमा आयोजित पूर्वाञ्चलव्यापी भारोत्तोलन प्रतियोगितामा प्रथम भएको थिएँ,' उनले भने ।राई अपि्रलमा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा गत वर्षको आफ्नै कीर्तिमान उछिन्ने दाउमा छन् । उक्त प्रतियोगितालगत्तै फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपमा हङकङका तर्फबाट उनी सहभागी हुनेछन् । 'हङकङका तर्फबाट सहभागी भए पनि मेरो सफलतामा यहाँका नेपालीको प्रतिष्ठासमेत गाँसिएको छ,' बाबुबाजेका कारण आजसम्म पनि नेपालीको बेग्लै पहिचान भएको उनले बताए । 'भावीपुस्ताका लागि हामीले पनि गर्विलो छाप छाड्नुपर्छ ।' ब्रिटिस गोर्खा सेनाका ४३ वर्षीय सन्तान राईले पारिवारिक समस्याका कारण बीचका केही वर्ष खेललाई निरन्तरता दिन नसकेको दुखेसो पोखे । खोटाङ, दिक्तेल, खार्तम्छाका राई चौध वर्षदेखि हङकङमा छन् । सुरक्षा पेसा अपनाएका उनले बचेका समय खेल अभ्यासमा दिने गरेको सुनाए । 'गाउँघरमा गह्रुँगा सरसामानहरू सजिलै उठाएको देख्दा साथीभाइ निक्कै बलियो छौ भन्दै हौस्याउँथे,' सम्भवतः हङकङमा भारोत्तोलन खेलतर्फका एक्ला नेपाली खेलाडी उनले यसतर्फको आकर्षण खोतल्दै भने, 'रोजगारीका सिलसिलामा सात वर्ष साउदी अरबमा रहँदा वलिष्ठ शरीर बनाउने ध्याउन्नमा जिमखाना धाइयो ।' हङकङ भित्रिएपछि भने राजकुमार र रोशन राईले अभ्यासका लागि सुझाएका उनले बताए । 'जिमखानामै भेटिएका क्यानेडियन मूलका चिनियाँले मैले भार उचालेको देखेर भारोत्तोलनमा सहभागी हुने सल्लाए दिए,' राईले जीउ तन्क्याउँदै भने, 'पहिलोपटकमै मिलेको सफलताले यसैमा रमाइयो ।' बढदो उमेरमा चुलिँदो चर्चा र सफलताले निकै हौसिएका नरबहादुर आफ्नो उमेर समूह र तौलअनुसार सहभागिता जनाइने भएकाले शरीरले साथ दिएसम्म खेललाई निरन्तरता दिने बताउँछन् ।

No comments: