News

Feb 12, 2010

पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, २८ माघ : पोखरालाई साहसिक पर्यटन गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्यसहित आउँदो ६ देखि ८ फागुनसम्म पोखरामा नेपाल ११औँ खुला प्याराग्लाइडिङ प्रतियोगिता गरिने भएको छ ।टान क्षेत्रीय च्याप्टर पोखराको आयोजना, नेपाल हवाई खेलकुद संस्थाको सहआयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । प्याराग्लाइडिङका लागि विश्वका १० उत्कृष्ट स्थानमध्ये पोखरा पनि परेको छ । पोखराको मात्र नभएर नेपालको समग्र पर्यटनको विकास एवं प्रवर्द्धन गर्ने र साहसिक पर्यटकीय खेलको माध्यमबाट यस क्षेत्रको प्रचार-प्रसार एवं विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । पोखरामा पहिलोपटक सन् १९९९ देखि टान क्षेत्रीय च्याप्टर पोखरा तथा सनराइज प्याराग्लाइडिङले प्रतियोगिता सुरु गरेका थिए । गत वर्षको प्रतियोगितामा नेपाललगायत १८ देशका ६९ जनाले भाग लिएकोमा यो वर्ष नेपाली तथा विदेशी गरी १ सय ५० जना पाइलटले प्रतियोगितामा सहभागिता जनाउने आयोजकको अनुमान छ । करिब ३० लाख २५ हजार खर्च लाग्ने सो प्रतियोगिता हेर्न स्वदेशी र विदेशी गरी करिब ४५ हजार दर्शक आउने अनुमान गरिएको छ भने विश्वप्रसिद्ध पाइलटलाई समेत पोखरामा ल्याइनेछ । प्रतियोगितामा सहभागी हुन २ हजार दर्ता शुल्क तिर्नुपर्ने तथा प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः २५, २० र १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउनेछन् । नेपाली पाइलटलाई प्रोत्साहनस्वरूप छुट्टै इभेन्टको रूपमा प्रतियोगितामा खुला नेपाली प्याराग्लाइडिङ प्रतिस्पर्धा गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न २८ सदस्यीय मूल आयोजक समिति १६ वटा उपसमिति तथा ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

No comments: