News

Feb 22, 2010

सामुदायिक सूचना केन्द्रमा ब्लु फिल्मको व्यापार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, फागुन ९- युवा सञ्जालले जिल्लास्थित एक सामुदायिक सूचना केन्द्रमा ब्लु फिल्म (अश्लील चलचित्र)को व्यापार हुने गरेको आरोप लगाएको छ।पत्रकार सम्मेलन गरी जिल्ला युवा सञ्जालले नारायणपुरस्थित सामुदायिक ग्रामीण सूचना केन्द्रका अध्यक्ष तथा पदाधिकारीले यस्तो कार्य गर्दै आएको आरोप लगाएको हो। गाविस परिषद्मा रहेका राजनीतिनक दलका प्रतिनिधिहरूले यो केन्द्र सञ्चालन गरेका छन्।युवा सञ्जालले सूचना केन्द्रबाट बरामद गरिएको भन्दै ब्लु फिल्मका डिभिडीहरू समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो। केन्द्रमा भइरहेका अनियमितताबारे बुझ्न जाँदा पलङमुनि राखिएका अवस्था ती डिभिडीहरू वरामद गरिएको सञ्जालका अध्यक्ष विष्णुकुमार देवकोटाले बताए। समितिले केन्द्रका पदाधिकारीले रातीराती कार्यालयमा बसेर ब्लु फिल्म 'कपी' गरेर बेच्ने गरेको दाबी गरेको छ। केन्द्रका अध्यक्ष गोविन्दबहादुर न्यौपानेले भने 'आफूले नगरेको तर केन्द्रका कर्मचारीले त्यस्तो काम गर्ने गरेको' बताएका छन्। सोही काममा संलग्न रहेकाले एक कम्प्युटर प्रशिक्षकलाई जागिरबाट निष्कासन गरेको समेत अध्यक्ष न्यौपानेले बताए। 'म कम्प्युटरको क समेत जान्दिनँ,' उनले भने, 'कसरी म त्यो काम गर्नसक्छु?' केन्द्रबाट निष्कासित कम्प्युटर प्रशिक्षक दुर्गाप्रसाद भन्डारीले भने पत्रकार सम्मेलनमा केन्द्रमा भएको भ्रष्टाचार रोक्न खाज्दा निकालिएको बताए। 'जबर्जस्ती र दुर्व्यवहार गरेर मलाई निकालियो', उनले भने। कार्यालय सहायक रहेकी दिलकुमारी चौधरीलाई समेत संस्थाबाट निकालिएको थियो। अध्यक्ष न्यौपानेले राती पनि काम गर्नुपर्छ भनेको र उनको कुरा नमान्दा जागिरबाट निकालिएको चौधरीले बताइन्। 'ठूला मान्छेले जतिबेला भन्छन्, त्यतिबेला काम गर्नुपर्छ भन्दै धम्क्याउने गर्थे,' उनले भनिन्।स्थानीय युवाहरूले गठन गरेको उक्त सञ्जालमा निष्कासित कर्मचारी दुर्गा भन्डारी र चौधरीले निवेदन दिएका थिए। घटनाबारे छानविन गर्ने इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ।सञ्जालले गाविस तथा जिविसमार्फत आएका थुप्रै रकम केन्द्रका पदाधिकारीले हिनामिना गरेको समेत आरोप लगाएको छ। सञ्जालका अध्यक्ष देवकोटाले संस्थाले मनोमानी ढंगले रकम खर्च गर्ने गरेको र पदाधिकारीहरूले फर्जी बिल बनाएर रकम निकासा गरेको दाबी समेत गरे। पूर्व कर्मचारी दुर्गा भन्डारीले ८/९ हजारको कम्प्युटर मर्मत खर्चलाई ३२ हजार देखाएर रकम निकासा हुने गरेको बताए।सञ्जालले सूचना केन्द्रमा भएको भ्रष्टाचार छानविनको माग गर्दै सूचना केन्द्रमा धर्ना दिनेदेखि तालाबन्दी गर्नेसम्मका चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।ग्रामीणस्तरका जनतालाई सहज सूचना तथा प्रविधि उपयोग गर्ने/गराउने उद्देश्यले स्थानीय निकायहरूको सहयोगमा २०६३ सालमा उक्त सूचना केन्द्र स्थापना भएको हो। केन्द्रले न्यूनतम मूल्यमा कम्प्युटर प्रशिक्षण, फोन, फ्याक्स, इमेल, इन्टरनेटलगायतका सेवा उपलब्ध गराउँदै आएको छ।

No comments: