News

Feb 24, 2010

जमिमको हत्याबारे प्रहरीसँग बयान लिन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ फागुन,सञ्चारउद्यमी जमिम शाहको हत्याबारे छानबिन गर्न गठित न्यायिक आयोगले सम्बन्धित प्रहरीसँग बयान लिन सुरु गरेको छ । जमिम हत्या भएको भोलिपल्ट २५ माघमा पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा गठन गरिएको आयोगले ३ फागुनमा काम सुरु गरेको थियो ।सोमबारसम्म हत्याकाण्डका विषयमा प्रहरीले तयार पारेका प्रतिवेदन, सम्बन्धित कागजात मगाएर त्यसको अध्ययन गरिएको र मंगलबारदेखि जमिमको हत्या भएको समयमा खटिएका प्रहरी, हत्याकाण्डमा संलग्न भएका भनिएका प्रहरी र सम्बन्धित प्रहरी अधिकारीसँग बयान लिन सुरु गरिएको आयोग स्रोतले बताएको छ । आयोगमा पूर्वन्यायाधीश पराजुलीसहित नेपाल प्रहरीबाट डिआइजी राजेन्द्रसिंह भण्डारी, अनुसन्धान विभागका निर्देशक देवेन्द्रकुमार सिंह र सहमहान्यायाधिवक्ता राजेन्द्रकुमार पोखरेल सहभागी छन् । आयोगले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेको छ । आयोग स्रोतका अनुसार, जमिमको हत्यामा संलग्न अभियुक्तसँग नियमित सम्पर्कमा रहेका भनिएका प्रहरी अधिकारीसँग पनि बयान लिइनेछ । यसअघि प्रहरीले गठन गरेको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्दै जमिमको हत्यामा संलग्न व्यक्तिसँग केही वरिष्ठ प्रहरी अधिकारीको नियमित सम्पर्क रहेको सार्वजनिक गरेको थियो । उनीहरूको नाम भने खुलाइएको छैन ।

No comments: