News

Feb 17, 2010

भारतीय सीमा सुरक्षाबलले भौतिक संरचना हटाउन थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, ५ फागुन,भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले इलामको पूर्वी सीमावर्ती क्षेत्रमा नेपाली भूमि मिचेर निर्माण गरेका भौतिक संरचना हटाउन थालेका छन् । पशुपतिनगरस्थित पुलखोला र हिलेनजिकैको चारमाइलमा बनाइएका भौतिक संरचना र तारबार एसएसबीले चार दिनदेखि हटाइरहेको छ । चारमाइलमा रहेका ७१/९, ७१/१० र ७१/११ नम्बरका सीमास्तम्भबीचको क्षेत्रमा भारतीय पक्षबाट निर्माण गरिएका भौतिक संरचना एसएसबीले हटाइसकेको छ । पुलखोलाको ७०/३ बि-टु र ७०/४ एम-टु क्षेत्रमा राखिएको सुरक्षा क्याम्पसमेत एसएसबीले भारतीय भूमितर्फ सार्न थालेको पशुपतिनगरका कमल गदालले बताए । एसएसबीले पुलखोलास्थित दसगजा क्षेत्रको खेलमैदानमा निर्माण गरेको फलामको गेटसमेत भत्काउँदै छ । सीमा प्रशासन कार्यालयमा सीमाको नापनक्सा र त्यहाँको यकिन तथ्यांक छैन । राज्यस्तरबाट आउने सीमा निरीक्षण टोलीले सीमा कार्यालय र जिल्ला प्रशासनमा समेत सम्बन्धित सीमाक्षेत्रको नापनक्सा नदिने गरेको सीमा प्रशासन पशुपतिनगरका प्रमुख यज्ञराज आचार्यले बताए । 'कति भूमि अतिक्रमण भएको छ भन्ने तथ्यांक हामीलाई पनि थाहा छैन,' आचार्यले भने, 'माथिबाट सीमा निरीक्षणमा कहिले, को आउने भन्नेसम्मका जानकारीसमेत हुँदैन ।' इलाका प्रहरी कार्यालय र सीमा प्रशासनले सातामा दुई-तीनपटकसम्म सीमा क्षेत्रको निरीक्षण गरिरहेका छन् । लामो समयदेखि भएको सीमा अतिक्रमणको विरोध र स्थानीयवासीको निगरानीले अतिक्रमित भूमिबाट एसएसबी पछि हट्दै गएको स्थानीयको भनाइ छ । इलामको पूर्वी सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा २० रोपनीभन्दा बढी नेपाली भू-भाग भारतीय पक्षबाट अतिक्रमण भएको विभिन्न समयमा खटिएका राज्य र स्थानीयस्तरका सीमा निरीक्षण टोलीको ठहर छ । जिल्लाको पूर्वी अन्तु गाविसको गुफापातालमा ११ रोपनी, उत्तरी सन्दकपुरमा चार रोपनी र पूर्वी पशुपतिनगरस्थित हिले, मानेभञ्ज्याङ, छब्बिसेलगायत स्थानमा सो क्षेत्रफलको नेपाली भू-भाग मिचिएको यसअघि ठहर भएको थियो । भारतीय पक्षबाट इलामको छब्बिसेमा रहेको ७२/५ नम्बरको स्तम्भ, पशुपतिनगर-५ पुलखोलामा ७२/२ र ७२/३ नम्बरको सहायक स्तम्भका बीचमा तथा पशुपतिनगर-४ स्थित हिलेमा ७१/८, ७१/९ र ७१/१० नम्बरको सहायक स्तम्भको आसपासमा भारतीय सुरक्षा बलले क्याम्प बनाई तारबारसमेत गरेपछि नेपाली भू-भाग त्यसभित्रै गाभिएको छ । भारतले श्रीअन्तुको छब्बिसेमा जवाहर नवोदय भारतीय विद्यालय दसगजाभित्रै बनाइएको छ भने फाटक, मानेभञ्ज्याङ, सीमानाबजार, सन्दकपुरलगायत क्षेत्रमा दसगजा मिचेरै बस्ती बसालिएको छ । भारतपट्टी धेरै भिरालो जमिन भएकाले पनि दसगजाको सजिलो जमिन मिचिने गरेको पशुपतिनगरका मिलन क्षेत्रीले बताए । राज्य पक्षकै उदासिनताको फाइदा उठाएर एसएसबीले सीमाअतिक्रमण जारी राखेको छ । एसएसबीले पटक-पटक नेपाली भू-भाग मिचेर क्याम्पसमेत खडा गर्दै आएको छ । संविधानसभा चुनावका वेला सुरक्षाको कारण देखाउँदै सन्दकपुर, गुफापाताल, छब्बिसे र हिलेका विभिन्न स्थानमा एसएसबीले दसगजा क्षेत्र मिचेर क्याम्प खडा गरेको थियो । तीन-तीन किलोमिटरको दूरीमा रहेका ती क्याम्प यतिका समय बितिसक्दा पनि नहटाउँदा सीमाका नेपालीले सास्ती भोग्नुपरेको छ । पूर्वी पशुपतिनगरस्थित भारततर्फ प्रवेश गर्ने मुख्य द्वारमा नेपाली भू-भागमै राखिएको एसएसबीको चेकपोस्ट अहिले पनि त्यही स्थानमा छ । सीमा अवलोकन र अध्ययनका क्रममा मेची अञ्चलमा मात्र दुई हजार हेक्टरभन्दा बढी भूमि भारतले अतिक्रमण गरेको पाइएको संविधानसभाअन्तर्गतको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जनाएको छ । समितिका सभापति पदमलाल विश्वकर्माका अनुसार नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन भारतले मिचेको छ ।

No comments: