News

Mar 19, 2011

नेपाली कामदारको उद्धारका लागि सरकारले खर्च नबेहोर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले अबदेखि खाडीलगायत विश्वका अन्य राष्ट्रमा रहेका नेपाली कामदारको उद्धार गर्नुपर्ने स्थिति आए खर्च नबेहोर्ने भएको छ । रोजगारका लागि आकर्षक गन्तव्य बनेको खाडी राष्ट्रमा एकपछि अर्को प्रजातान्त्रिक आन्दोलन चर्किंदै गएकाले त्यहाँका लाखौं नेपालीलाई आफ्नै खर्चमा उद्धार गर्न नसकिने ठहर गर्दै यो निर्णय गरिएको हो । इजिप्ट, लिबिया हुँदै बहराइन र जापानमा रहेका नेपालीको समेत उद्धार गर्नुपर्ने स्थिति बनेपछि मुख्य सचिव माधव घिमिरको कार्यकक्षमा वैदेशिक रोजगारसँग सम्बन्धित सबै निकायका पदाधिकारीको आकस्मिक बैठक डाकिएको थियो । अबका दिनमा विदेशमा रहेका नेपालीको उद्धार गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्ति, रोजगारदाता कम्पनी र त्यहाँ पठाउने म्यानपावर कम्पनीमध्ये एकले बेहोर्नुपर्नेमा बैठकमा सहभागी सबैले सहमति जनाएका थिए । उद्धारमा लाग्ने खर्चबाहेकको अन्य व्यवस्थापकीय कार्य भने सरकारले गर्नेछ । प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेल, श्रम सचिव दिनेश अधिकारी, परराष्ट्र सचिव मदनकुमार भट्टराई, श्रम सहसचिव पूर्णचन्द्र भट्टराई, परराष्ट्रका सहसचिवहरू धनञ्जय झा र हरिश्चन्द्र घिमिरे, परराष्ट्रका नायब शिष्टाचार महापाल धनबहादुर ओली, वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी प्रमुख थानेश्वर देवकोटा लगायत सहभागी रहेको बैठकले लामो छलफलपछि तत्काल बहराइन र त्यसपछि अन्य राष्ट्रमा रहेका नेपाली कामदारको तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।

No comments: