News

Mar 11, 2011

जापानमा महाभुकम्पपछि सुनामी, आपतकाल घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापानको मियागी क्षेत्रमा आज अपराहृन ८ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएपछि उत्तरपूर्वी प्यासिफिक क्षेत्रमा सुनामी आएको छ । भूकम्प अहिलेसम्मकै सबैभन्दा ठुलो भएको जानकारहरुले बताएका छन् । भूकम्पपछि मियागीको तटीय क्षेत्रमा करिव ७ मिटर अग्लो सुनामी आएको छ । जापानको एनएचके टेलिभिजनले घरहरु बगाइरहेको र मियागी क्षेत्रका घरका बासिन्दाले सेतो कपडा देखाउँदै उद्दारका लागि आह्वान गरिरहेको दृष्य देखाएको छ । बिभिन्न स्थानमा आगलागी भइरहेको छ, घरहरु बगाइरहेको छ । अहिले टोक्योमा बिद्युत आपुर्ती बन्द भएको छ । भूकम्प गएका ठाउँहरुका मानिसहरु सुरक्षाको लागि घर बाहिर खालि ठाउँमा बसिरहेका छन् ।
रेल स्टेशनमा मान्छेहरुको भीड लागेको छ । खुला ठाउँमा मान्छेहरुको भीड लागेको छ । सुनामीको कारण चिसो हावा चलेकाले अहिले जाडो बढेको छ । बीचबीचमा भूकम्पको सानोसानो धक्का आइरहेकाले फेरी ठूलो भूकम्प जाने आशंकाले सबै जना त्रसित बनेका छन् । भूकम्पपछि आएको सुनामीले ४० लाख घर बगाएको छ भने हजारौ मानिस वेपत्ता भएका छन् । यसबारे अध्ययनका लागि जापान सरकारले आठ वटा लडाकू विमानलाई परिचालन गरेको छ । रेल, बिमानस्थल, सञ्चार उपकरण अबरुद्ध भएका छन् । बिभिन्न ठाउँमा ल्याण्डलाइन र मोवाइलसमेत अबरुद्ध भएको छ । शुक्रबार अपरान्ह २ बजेर ४६ मिनेटको समयमा ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।
फुकुसिमा क्षेत्र पुरै तहसनहस भएको देखाइएको छ । जापानको पाँचबटै परमाणु प्रशोधन केन्द्र बन्द गरिएको छ । सरकारले ग्यास स्टेशन बन्द गरेको छ भने मानिसहरुलाई सुरक्षित स्थानतर्फ लैजाने प्रयास थालिएको छ । जापानसँगै फिलिपिन्स, रुस, इण्डोनेसियामा पनि सुनामीको चेतावनी दिइएको छ । चीनको बेइजिङ लगायतका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । यसैबीच जापानका प्रधानमन्त्रीले आपतकालीन अबस्थाको घोषणा गरेका छन् । प्रधानमन्त्री नायाटो कानले क्षति न्यूनिकरण र उद्धारमा सरकार लागेको भन्दै एक अर्कालाई सहयोग गर्न आहृवान गर्नुभयो । उहाँले फेरी सुनामी आउनसक्ने भन्दै सजग रहन नागरिकहरुलाई आग्रह गर्नु भएको छ । जापानमा रहेका नेपालीहरु कति प्रभावित भएका छन भन्ने एकिन जानकारी आउन सकेको छैन ।

No comments: