News

Mar 7, 2011

मधेसी मोर्चाको एक घटक सदभावना सरकारमा नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर, फाल्गुन २३ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टी सरकारमा नजाने भएको छ । सदभावना पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र महतोले एमाले र माओवादीबीच भएको सात बुँदै समझौता लोकतन्त्रविरोधी भएको आरोप लगाउँदै आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । जनकपुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा महतोले भने, 'सात बुँदे सम्झौता वाम ध्रुवीकरणको अभ्यास हो । यो सफल भयो भने मुलुकबाट लोकतन्त्र जान्छ । एकतन्त्रीय कम्युनिष्ट व्यवस्था लागू हुन्छ ।'
तीन ठुला दलको राजनीतिक 'सेन्डीकेट'को कारण शान्ति, संविधान र सेना समायोजनलगायतका प्रमुख मुद्दाहरु सम्वोधन हुन नसकेको आरोप उनले लगाए । भने, 'सधैं सत्तामा रहेकाहरु संविधान चाहेका छैनन्, शान्ति चाहेका छैनन अनि संघीयता पनि चाहेका छैनन् ।' उनले मधेसीलाई संविधानको सर्वाधिक आवश्यकता भएको जिकिर गर्दै जेठ १४ गतेसम्म संविधान नबने आफ्नो पार्टी कडा आन्दोलनमा जाने चेतावनी दिए ।
निर्धारित समयभित्र संविधान बन्न नसके आफ्नो पार्टी संविधान सभाबाट फर्किने संकेत दिदै उनले भने, 'तर निर्धारित समय भित्र संविधान बनेन भन्ने आम जनताले संविधान सभा असफल भएको निष्कर्ष निकाल्छ । यस्तो अवस्थामा पदमा बसी रहनु उचित हुन्छ जस्तो लाग्दैन ।' मधेसवादी दलहरुमा देखिएको पदलोलुपताबारेको सञ्चारकर्मीहरुको जिज्ञासामा राजेन्द्र महतोले भने, 'देशी विदेशी शक्तिहरु मधेसलाई एकतावद्ध देख्न चाहँदैनन् । तर 'आफै भाँडो खुल्ला राख्ने र कुकुरले खाना खायो' भन्नु पनि उचित होइन ।'

No comments: